उदयपुर, १६ वैशाख । उदयपुरको बेल्टार बसाहा नगरपालिका क्षेत्रका महिलाहरूमा समेत पाठेघर खस्ने समस्या पाइएको छ । महिला एकता नगर समिति बेल्टार बसाहा नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न स्वास्थ्य शिविरमा ३० जनालाई पाठेघर खस्ने समस्या देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुर र प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा २ सय १५ महिलाले स्वास्थ्य जाँच गरेका नगर समितिका अध्यक्ष पूर्णदेवी राईले बताइन । बेल्टार बसाहा नगरपालिकाको महिला लक्षित कार्यक्रमको सहयोगमा सञ्चालित कार्यक्रममा महिला पुनःस्थापना केन्द्र(ओरेक)नेपालले महिला स्वास्थ्य परामर्श सेवासमेत प्रदान गरेको थियो ।
पाठेघर खसेका बिरामी महिलाहरूलाई जिल्ला अस्पताल उदयपुरमा थप उपचार गरिने जनाइएको छ । महिलाहरूमा आउने स्वास्थ्य समस्यालाई निदान गर्ने उद्देश्यले बेल्टार बसाहा नगरपालिकामा स्वास्थ्य शिविर आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया