स्थानीय चुनाव अहिले गर्नु हुँदैन : नेता शर्मा

Janardan-Sharmaरुकुम, १२ वैशाख । एमाओवादी नेता जनार्दन शर्माले यथास्थितिमा स्थानीय निकायको चुनाव गर्न नहुने बताएका छन् । स्थानीय निकायको निर्वाचन छिटै गर्नुपर्ने आवश्यकता महसुस भएपनि नयाँ संविधानअनुसार नभई पुरानै तरिकाबाट चुनाव भए राजनीतिले फरक मोड लिनेसमेत उनको भनाइ छ । वाइसिएल रुकुमको चौथो जिल्ला सम्मेलनका लागि रुकुम आएका नेता शर्मासँग क्रान्तिकारी पत्रकार संघ रुकुमले खलंगामा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो कुरा बताएका हुन् ।

नयाँ संविधानमार्फत देश संघीय संरचनामा गइसकेको उल्लेख गर्दै गाउँपालिका निर्माण नगरेर चुनाव गर्नतिर लागियो भने अर्को खालको विवाद सिर्जना हुने बताउँदै पूर्व शान्तिमन्त्रीसमेत रहेका नेता शर्माले आगामी कात्तिकभित्र स्थानीय निर्वाचन गराउने भनिएकोमा यसबीचमा गाउँपालिका निर्माण गरेर मात्र स्थानीय निर्वाचन गर्नुपर्ने बताए । उनले भने, ‘गाउँपालिका निर्माण नगरेर हामी नयाँ निर्वाचनतिर लाग्यौँ भने अर्को किसिमको विवाद सिर्जना हुन्छ ।’ त्यसले गर्दा जसरी हामी अब आर्थिक समृद्धि र विकासतिर जाने भनेका छौँ त्यो अर्कोतिर मोडिन सक्ने भएकाले निर्वाचन असम्भव छ ।

‘हामी स्थानीय निकायको नयाँ निर्वाचनको पक्षमा नै छौँ तर नयाँ संविधान त्यसमा व्यक्त हुनुप¥यो’, उनले भने । राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर संविधान कार्यान्वयन गर्नुपर्ने कुरामा पनि जोड दिए नेता शर्माले त्यसका लागि प्रमुख ३ दल गम्भीर भएर लाग्नुपर्ने बताए । ३ वटै दलका शीर्ष नेता बसेर देशको समृद्धि र नयाँ संविधान कार्यान्वयनका लागि नीतिगत योजना बनाउनुपर्ने समेत उनले आवश्यकता औँल्याए ।

प्रतिक्रिया