‘मैले तिर्ने कर : शिक्षामा लगाउने रहर’ सुरु

काठमाडौं, ११ वैशाख । ‘मैले तिर्ने कर : शिक्षामा लगाउने रहर’ भन्ने नाराका साथ आइतबारदेखि मुलुकभर विश्वव्यापी कार्य सप्ताह–२०१६ मनाइँदै छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले शनिबार पत्रकार सम्मेलन गरी शिक्षाको मौलिक हकको कार्यान्वयन र बजेट वृद्धिजस्ता सवालमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न सप्ताह मनाउन लागिएको जानकारी दिएको थियो ।

आइतबार ३ बजे भद्रकालीबाट र उपत्यका बाहिर पनि विभिन्न ठाउँबाट ¥याली निकालेर सप्ताहको शुभारम्भ गरिने भएको छ । एनसिइ नेपालका अध्यक्ष राजकुमार गन्धर्वका अनुसार शिक्षाका लागि विश्वव्यापी अभियानले यही २४ देखि ३० अप्रिलसम्म अभियान मनाउनेछ । नेपालमा सन् २००३ देखि यो सप्ताह मनाउन थालिएको हो ।

सबै बालबालिकाले समान र समतामूलक रूपमा गुणस्तरीय शिक्षा पाउनुपर्ने र त्यसका लागि कुल बजेटको कम्तीमा २० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशत लगानी हुनुपर्ने माग अभियानको छ । प्लान इन्टरनेसनल, अस्ट्रेलियन एड र नेपाल अपांग महासंघले आयोजना गरेको एक कार्यक्रममा विद्यालय बाहिर रहेका ३ दशमलव ४ प्रतिशत अपांगता भएका विद्यार्थीलाई घरबाट विद्यालयसम्म पु¥याउन र विद्यालयमा टिकाइराख्न सरकारले कार्यक्रम ल्याउनुपर्ने सहभागीहरूले बताए ।

कार्यक्रममा शिक्षा विभागका उपनिर्देशक गणेशप्रसाद पौडेलले अपांगता भएका बालबालिकाको भर्ना, निरन्तरता र अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै अपांगता भएका विद्यार्थीका लागि सरकारले व्यवस्था गरेको आवासीय छात्रवृत्ति, सहयोगी सहायता सेवा छात्रवृत्ति, यातायात सेवा छात्रवृत्ति, शैक्षिक सामग्री छात्रवृत्तिबारे जानकारी दिए ।

प्रतिक्रिया