अदालतमा दोभासे सेवा सुरु

बुटवल, १० वैशाख । पुनरावेदन अदालत बुटवलले सेवाग्राहीलाई दोभासे सेवा प्रदान गर्ने भएको छ । यो सेवा सञ्चालनका लागि अदालतले प्रक्रिया सुरु गरिसकेको जनाएको छ । न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत पुनरावेदन अदालत बुटवल र मातहतका लुम्बिनी अञ्चलभित्रका जिल्ला अदालतमा दोभासे सेवाका लागि अहिले १५ दिने सूचना प्रकाशित भइसकेको पुनरावेदन अदालत बुटवलले जानकारी दिएको छ ।

पुनरावेदन अदालत बुटवलमा अंग्रेजी, हिन्दी, अवधि, भोजपुरी, गुरुङ, मगर, नेवार, थारूलगायतका ९ वटा भाषा बोल्ने सेवाग्राहीलाई दोभासे सेवा उपलब्ध गराउन लागिएको अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए । जिल्ला अदालतहरूले पनि आवश्यकताअनुसार बढी चलनचल्तीका भाषामा दोभासे सेवा उपलब्ध गराउने उनले बताए । न्यायिक जनशक्तिको सेवाग्राहीप्रतिको व्यवहार निगरानी र अनुगमन गर्न छड्के र गोप्य रूपमा कर्मचारी परिचालन गरिएको पनि श्रेष्ठले बताए । साथै भीडभाड र जनसम्पर्क हुने स्थानमा सिसिटिभी पनि जडान गर्न लागिएको उनले जानकारी दिए ।

‘छिटोछरितो न्याय, सबैका लागि न्याय’ नाराअन्तर्गत गत वर्षदेखि चालु तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत दोस्रो आव ०७२÷७३ को पुनरावेदन अदालत बुटवल र मातहतका जिल्ला अदालतको वार्षिक कार्ययोजना दोस्रो चौमासिक समीक्षा कार्यक्रमसमेत बुटवलमा सम्पन्न भएको पनि उनले जानकारी गराए । वार्षिक कार्यान्वयन योजनाअन्तर्गत पुनरावेदन अदालत र मातहतका अदालतहरू मुद्दा फछ्र्योटको लक्ष्य नजिक रहेको र आगामी असार मसान्तसम्ममा लक्ष्य पूरा हुने रजिस्ट्रार श्रेष्ठले विश्वास व्यक्त गरे ।

पुनरावेदन अदालत बुटवलका अनुसार चैत मसान्तसम्मको मुद्दाका लगतमा पुनरावेदन अदालतमा २ हजार २ सय ५९, रूपन्देही जिल्ला अदालतमा ३ हजार २ सय ५१, नवलपरासीमा २ हजार २ सय ८०, कपिलवस्तुमा १ हजार ५ सय ६०, गुल्मीमा ३ सय २१, पाल्पामा ३ सय ३०, अर्घाखाँचीमा २ सय ५४ रहेका छन् ।

त्यसअन्तर्गत पुनरावेदन अदालतको ६८ प्रतिशत फछ्र्योट लक्ष्यमा हालसम्म ४५ दशमलव १५ प्रतिशत, रूपन्देही जिल्ला अदालतको ६० प्रतिशत लक्ष्यमा ५१ दशमलव ३१ प्रतिशत, नवलपरासीको ६० प्रतिशत लक्ष्यमा ५७ दशमलव ५४ प्रतिशत, कपिलवस्तुको ७० प्रतिशत लक्ष्यमा ३८ दशमलव ७८, गुल्मीको ७० प्रतिशत लक्ष्यमा ५९ दशमलव ८१, पाल्पाको ७५ प्रतिशत लक्ष्यमा ६९ दशमलव ०९ र अर्घाखाँचीको ७५ प्रतिशत लक्ष्यमा ५८ दशमलव २७ प्रतिशत मुद्दा फछ्र्योट भइसकेका छन् ।

मेलमिलापमा पनि पुनरावेदन अदालत निर्धारित लक्ष्यभन्दा सफल रहेको छ । पुनरावेदन अदालतको मेलमिलापको निर्धारित लक्ष्य १८–१९ प्रतिशत रहेकामा यसवर्ष चैत मसान्तभित्रै २१ दशमलव ५३ प्रतिशत मुद्दामा मेलमिलाप भएका छन् ।

प्रतिक्रिया