कालीगण्डकीको पानी ल्याउन विस्तृत परियोजना प्रतिवेदन

पाल्पा । तानसेनमा वर्षैदेखि खानेपानीको समस्या बढेपछि कालीगण्डकी नदीको पानी ल्याउन विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । प्रतिवेदन तयार भएसँगै यहाँका उपभोक्ता खुसी भएका हुन् । खानेपानी तथा सरसफाइ विभागले परामर्शदाता लगाएर तयार गरेको प्रतिवेदनानुसार बजेट पर्याप्त हुने हो भने दुई वर्षभित्र कालीगण्डकीको पानी तानसेन आउन सक्छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार कालीगण्डकीको पानी तानसेन ल्याउँदा प्रतिघन्टा एक लाख ३५ हजार लि जम्मा हुन्छ । १८ घन्टा दैनिक पानी तान्दा २४ लाख ३० हजार लि पानी ट्यांकीमा जम्मा गर्न सकिन्छ । लिङ्खिटङ प्रविधिबाट पानी ल्याउने विस्तृत योजना तयार भएको हो । बौघागुम्हा गाविसको साप्लाक ठूलोबगर ठूलो ढुङ्गा भन्ने स्थानमा मुख्य केन्द्र रहनेछ । त्यहाँबाट पानी तानेर तानसेन ल्याइने डिभिजन खानेपानी प्रमुख केशवलाल शाक्यले बताए ।

३० करोड रुपैयाँको लागतमा तयार हुने खानेपानी योजनाले १५ वर्षलाई थेग्ने बताइएको छ । उपभोक्ताले रु तीन करोड जुटाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । (रासस)

प्रतिक्रिया