अहिले सरकार फेर्न हुन्न : भट्टराई

Baburam-Bhattaraiविराटनगर, ३ चैत । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकारको विकल्प खोज्नेभन्दा पनि सुस्त सरकारलाई काम गर्न दबाब दिनुपर्ने बताएका छन् ।

मधेस जागरणको लागि एक हप्ते अभियानमा सहभागी हुन शुक्रबार मध्य मधेस निस्किएका नेता भट्टराईले विराटनगर विमानस्थलमा सञ्चाकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘सरकारले सुस्त गतिमा काम गरिरहेकोले द्रूत गतिमा काम गर्न सबैले दबाब दिनुपर्छ,’ उनले भने ‘सरकारको विकल्प नै खोज्नुपर्ने बेला भएको छैन । तर, सरकार असाध्यै सुस्त भएको छ, यसलाई छिटो काम गर्न दबाब दिनुपर्छ ।’

सरकार परिवर्तनको खेलमा लाग्दा देशमा थप राजनीतिक अस्थिरता निम्तने बताउँदै उनले यस्तो खेलमा नलाग्न राजनीतिक दलहरूलाई आग्रह गरे । ‘एकपछि अर्को सरकार परिवर्तनको खेलले मुलुकमा अस्थिरता निम्तन सक्छ,’ उनले भने, ‘सबै मिलेर सरकारको ढिलासुस्ती, गतिहिनताको विरुद्ध आवाज उठाउनुपर्छ र भ्रष्टाचार र कालोबजारी रोक्नको लागि बाध्य बनाउनुपर्छ ।’

भट्टराईले मधेसको समस्या राजनीतिक मुद्दा भएकोले वार्ता र छलफलबाटै समस्याको समाधानको उपाय खोज्न दुवै पक्षलाई गम्भीर हुन आग्रह गरे । ‘सरकार दुरदर्शी नहुँदा मुलुकले अनावश्यक क्षति बेहोरिरहेको छ,’ उनले भने, ‘मधेसमा देखिएका समस्या समाधान गर्नका लागि मोर्चा र सरकार वार्तामा बस्नुको विकल्प छैन ।’

शुक्रबार सप्तरीको भारदहमा आयोजित कार्यक्रममा सहभागी हुन मधेस पुगेका भट्टराई लगातार १ सातासम्म मधेस जागरण अभियानमा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया