एमाले केन्द्रीय समिति बैठक सकियो : मधेसी मोर्चालाई वार्ताको आह्वान

UML meetingकाठमाडौं, ३ चैत । एमालेले आन्दोलनको बाटो छोडेर वार्ता र संवादमार्फत शान्ति र समझदारीको प्रक्रियामा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधसी मोर्चालाई आग्रह गरेको छ ।

एमालेले संविधानले राष्ट्रिय आकांक्षा र जनअधिकारहरूलाई ऐतिहासिक रूपमा संस्थागत गरेको ठहरसहित राजनीतिक मतभेद् र समस्या छलफलबाट समाधान गर्न सकिने संवैधानिक आधार निर्माण भएको भन्दै मोर्चालाई वार्तामा आउन आव्हान गरेको हो । एमालेको शुक्रबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रस्ताव नै पारित गरी तराई–मधेसमा उत्पन्न असहज अवस्था, नेपालले सामना गर्नुपरेको अघोषित नाकाबन्दी र त्यसबाट जनताले भोग्नुपरेको पीडालाई मनन् गर्दै आन्दोलनको बाटो छोडेर वार्तामा आउन मोर्चालाई आग्रह गरेको हो ।

मोर्चाले गरेको ६ महिना लामो आन्दोलनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विशेषण दिने गरेकामा एमालेको केन्द्रीय कमिटीले भने मधेस आन्दोलन भनेर उल्लेख गरी आन्दोलनका क्रममा मृत्यु भएकाहरूका परिवारलाई राहत दिन तथा घाइतेहरूको उपचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ६ दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले नाकाबन्दी र आन्दोलन साम्य भएको लामो समय वित्दा पनि पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको वितरण सहज नभएकोप्रति आलोचना गर्दै आपूर्ति व्यवस्था सहज तुल्याउन तथा कालोबजारी र भ्रष्ट्राचार नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ।

बैठकले १९ बुँदे प्रस्ताव पारित गर्ने क्रममा स्थानीय निकायको मिति तत्काल तोक्न तथा भुकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निमाणको कामलाई तीव्रता दिन पनि सरकारलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रस्ताव सुझावसहित पारित गरेको बैठकले संविधानको भावना अनुसार प्रदेश कमिटी बनाउने निर्णय गरेको छ । बैठकले प्रदेश कमिटीमा रहने नेताहरूको नाम टुंगो लगाउने जिम्मा भने स्थायी कमिटीलाई दिएको छ । बैठकमा पार्टी अध्यक्ष ओलीले हालका अञ्चल तथा जिल्लाका इन्चार्ज र सहइन्चार्ज, जिल्ला अध्यक्ष र निवर्तमान अध्यक्ष सदस्य रहने गरी स्थायी कमिटीका सदस्यको संयोजकत्वमा प्रदेश कमिटी गठनको प्रस्ताव गरेका थिए । बैठकको अन्तिममा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीलाई एकताबद्ध बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले पार्टी र सरकार सञ्चालनका सम्बन्धमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपालसँग सल्लाह गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै केन्द्रीय सदस्यहरूलाई पनि गुटगत गतिविधिमा लाग्नुको साटो अबको निर्वाचनमा पार्टीलाई एक नम्बरको स्थानमा पु¥याउने गरी काम गर्न निर्देशन दिएका थिए ।

अध्यक्ष ओलीले आफू दोहारिएर पदमा नआउने भएकोले गुटबन्दी गर्नुपर्ने कुनै आवश्यकता नभएको बताए । बिहीबारको बैठकमा बोल्दै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले अध्यक्ष आफैँले गुटबन्दी गरी संस्थागतरूपमा नचलेको आरोप लगाएका थिए । तर, अध्यक्ष ओलीले त्यसको प्रतिवाद गर्दै आफू दोहोरिएर पदमा नआउने भएकोले गुटबन्दी गर्नुपर्ने कुनै आवश्यकता नभएको बताएका हुन् ।

‘म एक कार्यकालको अनुभव बटुलेर अर्को कार्यकालमा काम गर्न आएको होइन, जति गर्छु यही कार्यकालमा गर्छु । त्यसैले मैले कुनै गुटबन्दी गरेको छैन र आवश्यकता पनि छैन’ ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘मलाई पद जाला कि कसरी जोगाउने भन्ने पिर छैन, कति काम कसरी गर्ने भन्ने मात्र चिन्ता छ, म काम गर्न आएको हुँ ।’

प्रतिक्रिया