दुर्गममा पानीको हाहाकार

काठमाडौं, २ वैशाख । वर्षभरि खानेपानीको मुहान सुकेपछि ग्रामीण क्षेत्रका बासिन्दा यसपालि फागुन–चैतदेखि पानीको चिन्तामा डुबेका छन् । पाल्पा मुझुंग–७ स्थित पिपौदीको खानेपानीको मुहानमा दुई दिनसम्म पानी सङ्कलन गर्दा पनि २ गाग्रो भर्न समस्या भएपछि स्थानीय बासिन्दा पानीको चिन्तामा डुबेका हुन् ।
गत वर्षसम्म १२ महिना पानी प्रशस्त हुने मुहानमा अहिले २ गाग्रो पानी भर्न नपुगेपछि यहाँका स्थानीयवासी गाग्रो बोकेर पानीको मुहानको खोजीमा भौँतारिएका छन् । मुझुंग–१, २, ७ र ८ का झन्डै २ सय घरपरिवारका लागि पहिला खानेपानी पुग्ने गरेको मुहानमा अहिले माघ–फागुनदेखि नै पानीको मुहान सुकेपछि स्थानीय बासिन्दालाई यतिबेला पानीको जोहो गर्न समस्या भएको छ ।

पिपौदीमा पानीको मुहान सुकेपछि पानीको मुहानको खोजीमा मुझुंग–७ स्थित लामटांगेको धारामा पानी ल्याउनका लागि धाउन परेको स्थानीयवासी सुमित्रा दर्नालले बताइन् । उनी भन्छिन्, ‘३ घन्टा कुरेर एक गाग्रो पानी भर्न पाइन्छ, अरू पानीका मुहान सुकेपछि सबैले खानेपानी ल्याउने धारा नै त्यही बनेको छ । त्यस धारामा खानेपानी मात्र थाप्न पाइन्छ, नुहाइधुवाइ गर्न त छहरा–५ मंगालको खोलामा जानुपर्छ ।’

गतवर्ष लामो समय पानी नपरेपछि मुहान फुट्नै नपाएर यसपालि पानीका मुहान छिट्टै सुकेको स्थानीय बूढापाका बताउँछन् । पाल्पाकै भैरवस्थान–३ का टोपनारायण रायमाझीका अनुसार यसवर्ष माघ–फागुनमा नै एक दर्जनभन्दा बढी पानीका मुहान सुकेका छन् । परम्परागत रूपमा प्रयोग गरिने खानेपानीका मुहान सुकेपछि गृहिणी तथा बालबालिका ठूलो समस्या भोग्न बाध्य भएका हुन् ।

पाल्पामा पानीका मुहान सुकेपछि पानीको मुहानको खोजीमा तानसेन नगरपालिका, पालुंगमैनादी, कुसुमखोला, खस्यौली, भैरवस्थानलगायत गाविसमा पानीको निकै समस्या रहेको छ । पहाडी जिल्ला भएकाले पनि मानिस लेकमा बस्ने गरेकाले पानीको समस्या झन् बढेको स्थानीयवासी बताउँछन् ।

त्यस्तै, अत्यधिक खडेरीका कारण हिमाली जिल्ला मुस्ताङका ३ गाउँमा खानेपानीको चर्को अभाव सिर्जना भएको छ । खानेपानीको अभावमा स्थानीयवासी बसाइँसराइ गर्ने अवस्थामा समेत पुगेका छन् । हिउँदको मौसममा पर्याप्त मात्रामा हिउँ नपरेपछि उपल्लो मुस्ताङको सुर्खाङ, चराङ, मराङ गाउँमा चरम खानेपानीको संकट देखिएको स्थानीयवासीले जानकारी दिएका छन् । गाउँ नजिकै रहेको पानीको मुहान सुकेका कारण उनीहरू घन्टौँ हिँडेर कालीगण्डकीको पानी पिउन बाध्य भइरहेका छन् । गतवर्षको हिउँद मौसममा पर्याप्त मात्रामा हिउँ परेपछि माघ महिनासम्म खासै पानीको अभाव थिएन ।

खडेरीले गाउँ वरपरका मुहान सुकेपछि समस्या उत्पन्न भएको चराङका याङ्दी गुरुङले जानकारी दिए । तीन गाउँमा करिब ६० घरधुरी बसोबास रहेको बताइएको छ । ‘पहिलादेखि यहाँ राम्रो खानेपानीको मुहान नभएको हो, लामो समय हिउँ नपर्दा यस्तै समस्या झेल्दै आएका छौँ,’ गुरुङले भने, ‘गाउँदेखि जिल्ला तहसम्म आग्रह गरे पनि बजेट धेरै चाहिने भएकाले सम्भव छैन ।’ उपल्लो मुस्ताङ छोसेर, घमी, सुर्खाङ गाविसमा पनि खानेपानीको समस्या बढ्दै गएको बताइएको छ ।

लामो समयदेखिको खडेरीका कारण तल्लो मुस्ताङ कोबाङ, लेते क्षेत्रमा पनि खानेपानीका मुहान सुक्दा समस्या उत्पन्न भएको अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति कोबाङका अध्यक्ष तेजबहादुर थकालीले जानकारी दिए ।

उपल्लो मुस्ताङको ३ गाउँमा आगामी आर्थिक वर्षमा खानेपानी योजना सञ्चालन गरिने स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले जानकारी दिए ।

प्रतिक्रिया