हर्षोल्लासका साथ मनाइयो सिन्दूर जात्रा

भक्तपुर, २ वैशाख । मध्यपुरथिमी क्षेत्रका बासिन्दाले बिहीबार बिहान हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूरजात्रा अर्थात् सुथःसिया जात्रा मनाएका छन् । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये २६ वटा खटसहितको सिन्दूर जात्रा अति प्रसिद्ध जात्रा हो ।

थिमीमा मात्र मनाइने सिन्दूर जात्रामा बिहान ७ बजे अगाडि नै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरूले हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवदेवीहरूको खट ल्याएर यो जात्रा मनाइएको छ ।

थिमीमा २६ वटा खट सहभागी रथ बोकेर जात्रा परम्परागत रूपमा मनाएका छन् । यसमा थिमीको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दूर खेल्दै सिन्दूर जात्रा मनाइन्छ ।

विगतमा ३२ वटा खट जात्रा हुने गरेपनि पछिल्लो केही वर्षदेखि नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराहीको खट बालकुमारीमा नल्याई आआफ्नै ठाउँमा जात्रा गर्ने भएपछि २६ खटको मात्रै जात्रा गरिएको हो ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूरेजात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो ।

बालकुमारीबाट परम्परागत रूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरूको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिन्छ ।

परम्पराअनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन भनेर लायकू प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरू देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा रहेको छ ।

अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगां द्यो, क्वाछे द्यों मा पनि सिन्दूर खेल्दै परिक्रमा गराइन्छ भने बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवम् उत्साह उमङगका साथ थिमिका बासिन्दाले सिन्दूर खेल्दै यो जात्रा मनाउँछन् ।

एकअर्कामा सौहाद्र्रपूर्ण रूपमा सिन्दूर दल्ने, छ्याप्ने र विभिन्न पेय पदार्थ पिउँदै नेवारी बाजाको तालसँगै नाच्दै रमाउँदै अति मनोरञ्जनका साथ यो जात्रा मनाउने गरिन्छ । जात्रा हेर्नका लागि विभिन्न क्षेत्रबाट दर्शकको घुइँचो लाग्ने गर्दछ भने स्वदेशी तथा विदेशी पर्यटककोसमेत उल्लेख्य रूपमा सहभागिता रहेको थियो ।

आदिनाथको मूर्तिलाइ स्नान

काठमाडौंको दक्षिण भेगमा अवस्थित चोभारको आदिनाथमा बिहीबार नख्खु दोभानमा स्नान गराइएको छ । प्रत्येक वर्ष चैतेदसैँका दिन उक्त मन्दिरको मूर्तिलाई खटमा राखेर नख्खु दोभानमा पु¥याइ स्नान गराइन्छ ।

मन्दिरका मूल पुजारीले मूर्तिलाई विधिविधानअनुसार खटमा राखेर पूजा गरेपछि स्थानीयवासीको सहयोगमा करिब ३ किमी टाढा नख्खु दोभानस्थित नदीमा लगेर देवतालाई स्नान गराइएको हो । प्राचीन समयमा चोभारका १ ग्वालाले गाई चराउन नख्खु दोभानमा जाँदा सोही स्थानमा उक्त मूर्ति फेला पारेको जनविश्वास छ । तत्कालीन समयमा चोभारमा विभिन्न दैवीप्रकोपको समस्या रहेको र मूर्ति स्थापना गरेपछि त्यहाँ अनिकाल हुन छाडेको बूढापाका बताउँछन् । त्यसपछि त्यहाँ मन्दिर निर्माण गरिएको विश्वास गरिन्छ ।

नख्खुका स्थानीयवासीले आफ्नो देवताको मूर्ति चोभारमा लगिएपछि विवाद गरी देवतालाई लैजान खोज्दा वर्षमा एकपटक खट जात्रा गर्ने सहमतिमा विवाद साम्य \भएको र सोही परम्परालाई निरन्तरता दिइएको पूजारी सरोज शाक्यले जानकारी दिए ।

प्रतिक्रिया