वर्षा अगावै पुनर्निर्माण : नागरिक समाज

काठमाडौं, १ वैशाख । वर्षायाम अगावै भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गरी पीडितलाई छानामुनि बस्ने व्यवस्था मिलाउन नागरिक समाजका तर्फबाट सरकारसँग माग गरिएको छ ।

‘ब्राइट नेपालले बुधबार आयोजना गरेको पुनर्निर्माणमा नागरिक समाजको भूमिका’ विषयक अन्तक्र्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक समाजका अगुवाले यस्तो आग्रह गरेका हुन् । कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले प्राकृतिक प्रकोपका समयमा ग्रामीण भेगले भरिएको देशमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

पुनर्निर्माणमा आवश्यक पर्ने बजेट जसरी पनि व्यवस्था गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी मन्त्री पाण्डेयले दिए । सांसद गीता राणाले १२ वैशाखको भूकम्पपछि सबै कुरामा ध्यान दिन नसके पनि पहिलो चरणमा नागरिक समाज नै राहत लिएर पुगेको बताइन् । एम्नेस्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष सूर्यबहादुर अधिकारीले भूकम्पपछिको पुनर्निर्माण कछुवाको भन्दा पनि सुस्त गतिमा चलेकाले सरकारले गम्भीर रूपमा लिनुपर्ने बताए । कार्यक्रममा विदेशी नागरिक रुडिवर्ड क्लाउड, हास्य कलाकार श्रीकृष्ण सिम्खडा, ब्राइट नेपालका पूर्वअध्यक्ष कैलाशप्रसाद देव, अध्यक्ष पुनम देवलगायतका वक्ताले वर्षायाम अगावै पुनर्निर्माण गरी पीडितलाई राहत दिन माग गरे ।

प्रतिक्रिया