जातीय एकताको पर्व सिरुवा

मोरङ, १ वैशाख । विशेषगरी चौधरी र राजवंशी समुदायले खुसी साटासाट गरेर मनाउने सिरुवा पर्वमा सबै प्रकारका समुदायको सहभागिता रहने गरेको पाइएको छ ।

गोविन्दपुरको सुनवर्सीमा बुधबार लागेको सिरुवा मेला नयाँवर्षका अवसरमा बुधबार धुमधामका साथ मनाउन धेरै समुदायको सहभागिता थियो । विशेषगरी चौधरी र राजवंशी समुदायले नयाँवर्षका अवसरमा धुमधामका साथ परिवारका सबै सदस्यको दीर्घ जीवनको कामना गर्दै खुसी साटासट गरेर यो पर्व मनाउने गरिन्छ । समयको गतिशीलतासँगै विभिन्न जाति, धर्म र सम्प्रदायका मानिसले बुधबार सिरुवा पर्व मनाएका छन् ।

झापाबाट गोविन्दपुर आएकी एलिसा दाहालले मनको कामना पूरा हुने विश्वासका साथ सिरुवा पर्वका अवसरमा मन्दिरमा पूजाआजा गर्न आएको बताइन् । एलिसाको मात्र हैन, सुनसरीका सर्वेन्द्र आचार्य पनि सपरिवार सो मेलामा सहभागी थिए । सुनवर्सी मेलामा सहभागी हुने अनि पूजा गरेर आफ्नो मनको कामना पूरा गर्ने इच्छा गरेर धेरै आउने समुदाय धेरै छन् ।

पहिला यस्ता सिरुवा मेलामा राजवंशी समुदायका व्यक्तिमात्र रहने गरेको भए पनि पछिल्लो समय सबै समुदाय पर्वमा सहभागी हुन आउने अनि मेलामा रमाउने गरेको गोविन्दपुरका स्थानीय अगुवा शिवदयाल राजवंशीको भनाइ छ ।

मेला हेर्न र मन्दिरमा पूजा गरेर सुनवर्सी माइसँग इच्छाएका कुरा माग्न सबै किसिमका समुदाय जुटेका हुन् । गोविन्दपुर मात्र हैन झापा, सुनसरी र मोरङ जिल्लाका साथै भारतको विहारबाट पनि यो पर्व मनाउन सर्वसाधारणको भीड लागेको छ ।

यो मेला कहिले र कसरी सुरु भयो भने बारेमा कसैलाई पनि हेक्का छैन । यो स्थानमा अहिले पनि आफ्नो मनोकामना पूरा हुने विश्वास रहँदै आएको सुनवर्सी महाराज मन्दिर तथा पोखरी व्यवस्थापन संरक्षण समितिका अध्यक्ष कुमार बुढाथोकीको भनाइ छ ।

सो मेलामा पुग्नुभएका सांसद ऋषिकेश पोखरेल सांसद विकास कोषबाट आठ लाख, संस्कृति मन्त्रालयबाट दुई लाख तथा अन्य कोषबाट पाँच लाख गरी १५ लाखको लागतमा निर्माणको काम भइरहेको बताए । यस स्थानलाई धार्मिक स्थलका रूपमा विकास गर्दै लैजाने योजनाका साथ सबैको आस्थाका रूपमा सुनवर्सीमा काम भइरहेको पोखरेलको भनाइ छ । मोरङको गोविन्दपुरको सुनवर्सीमा मात्र होइन डायनिया, दादरबैरिया, झोराहाट, डंगाहालगायत १२ बढी ठाउँमा मेला लागेका छन् ।

प्रतिक्रिया