मुटुरोगीलाई चुम्लुङको आर्थिक सहयोग

sahayog copyइलाम, ३० चैत । इलाम सोयाक–६ का २५ वर्षीय मुटुरोगी बुद्धराज लिम्बूलाई उपचारार्थ किरात याक्थुङ चुम्लुङले १ लाख १५ हजार ८ सय २१ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । इलाम सदरमुकामस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा आयोजित कार्यक्रममा बुद्धराजलाई याक्थुङ चुम्लुङ इजरायल शाखाबाट प्राप्त १ लाख र माङ्गेना चेली समूह गोंगबु काठमाडांैबाट प्राप्त १५ हजार ८ सय २१ रुपैयाँको रकमको चेक मुटुरोगी बुद्धराजलाई उपलब्ध गराइएको हो । बुद्धराजलाई सो चेक चुम्लुङका केन्द्रीय सदस्य यामप्रसाद लिम्बूले हस्तान्तराण गरेका थिए ।

आर्थिक अवस्था कमजोर रहेका बुद्धराजलाई चुम्लुङ जिल्ला शाखा इलामको पहलमा सो रकम जुटाइदिइएको जिल्ला शाखाका अध्यक्ष चक्र येक्तेनले बताए । १ महिनाअघि मात्र सहिद गंगालाल अस्पताल काठमाडौंमा मुटुको भल्भ फेरेका बुद्धराजले हाल नियमित रूपमा औषधि सेवन गर्दै आएकोले चुम्लुङबाट प्राप्त रकमले थप उपचारको लागि सहयोग प्राप्त भएको बताए । बुद्धराजले सबैको हयोग पाएकाले नयाँ जन्म पाएको प्रतिक्रिया दिए । ‘हजुरहरूको सहयोगले मैले नयाँ जन्म पाएको छु’ बुद्धराज भन्छन्, ‘मलाई उपचार र आर्थिक सहयोगका लागि अभियानमा लाग्नुहुने किरात याक्थुङ चुम्लुङसहित सबैलाई धन्यवाद छ ।’ बुद्धराजले आजीवन औषधि सेवन गर्नुपर्नेछ ।

उनको उपचारका लागि जिल्लास्थित विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोगबाट संकलित ४ लाख ५० हजार रुपैयाँमा मुटुको दुवै भल्भ फेरिएको हो । नयाँ जन्म पाएको बताउने बुद्धराजले सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया