तातो हावाले सयौँ विद्यालय बन्द

क्वालालम्पुर, २९ चैत । तातो हावाका कारण मलेसियामा पनि प्रभाव परेको समाचार छ । तातो हावा चलेपछि सडकमा निस्किन निकै गाह्रो भएको बताइएको छ । जसका कारण मलेसियाका सयौँ विद्यालय बन्द गरिएको छ । विश्वव्यापी रूपमा बढेको तापक्रमका कारण खाद्य उत्पादनका साथै अन्य जीवनशैलीमा पनि प्रभाव परेको समाचारमा उल्लेख गरिएको छ । गएको ७२ घन्टायतादेखि विशेषगरी मलेसियाको पलिएस् र पाहाङ क्षेत्रमा कम्तीमा ३७ डिग्री तापक्रम पुगेको छ । ती क्षेत्रको तापक्रम निरन्तर रूपमा बढ्दो मात्रामा देखिएको छ । जसका कारण ती क्षेत्रका २ सय ५० भन्दा बढी स्थानीय विद्यालय बन्द गर्न लगाइएको बताइएको छ । मलेसियाको शिक्षा मन्त्रालयले सो जानकारी दिएको हो ।

सो मन्त्रालयले ती क्षेत्रमा रहेका १ लाखभन्दा बढी विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी उक्त निर्णय गरिएको जनाएको छ । मलेसियाली सरकारी समाचार समिति, बर्नामाले दिएको जानकारीअनुसार ती क्षेत्रमा नागरिकको स्वास्थ्यमा व्यापक मात्रामा प्रभाव परिरहेको छ । यसका कारण गहुँको खेती, रबर प्लान्टको उत्पादन र हरियो तरकारीको उत्पादनमा पनि प्रभाव परेको छ । उत्पादनमा कमी आएको र यसले गर्दा तरकारीमा महँगी सुरु भएको जनाइएको छ ।

मलेसियाका विभिन्न भूभागमा गएको जनवरी र फेब्रुअरी महिनामा विगतका वर्षहरूको तुलनामा तापक्रममा निकै वृद्धि भएको छ । यसवर्ष ३७ डिग्री सेल्सियस पुगेको सो क्षेत्रको तापक्रम यसअघि कहिल्यै त्यति पुगेको थिएन । यसवर्ष विश्वका अरू पनि कयौँ देशमा एलनिनोको प्रभाव र जलवायुमा भएको अस्वाभाविक परिवर्तनले गर्दा तातोपनामा वृद्धि जारी रहेको छ ।

प्रतिक्रिया