राष्ट्रिय सरकार बनाउन आवश्यक : गच्छदार

butwal n copyबुटवल, २९ चैत । नेपाल सरकार भौतिक योजना तथा यातायातमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार यही अवस्थामा पनि राष्ट्रिय सरकार बनाउन तयार भएको बताएका छन् । उनले संविधान कार्यान्व्यनका लागि दलहरू एकै ठाउँ हुनुपर्ने बेला आएकाले राष्ट्रिय सरकार बनाउन सरकार तयार रहेको बताए ।

पश्चिम नेपाल वस व्यवसायी संघ बुटवलको २१औँ वार्षिक साधारणसभामा बोल्दै गच्छदारले संविधान निर्माणका क्रममा दलहरूमा भएको एकता संविधान कार्यान्वयनका एकता आवश्यक रहेको बताए । उनले अब राजनीतिक आन्दोलन छाडेर देशलाई समृद्धि र विकासतर्फ अगाडि बढाउन संविधान कार्यान्वयन हुनुपर्ने भन्दै संविधानमाथि टेकेर जनताको चाहाना पूरा गर्ने बेला आएको बताए ।

उनले भने, ‘अब नेपाली जनता राष्ट्रको उन्नती होस् भन्ने चाहन्छन्, त्यसका लागि राजनीतिक एकता जरुरी छ, जसका कारण राजनीतिक संकट पनि हट्नेछ र नेपाललाई पुनर्निर्माणतर्फ अगाडि बढाउन सकिन्छ ।’ सरकारका उपप्रधानमन्त्रीसमेत रहेको गच्छदारले संविधान बनाउने क्रममा भएको राजनीतिक एकता अहिले अप्ठ्यारोमा परेकाले अहिले सहमतिको आवश्यकता रहेको बताए । उनले भने, ‘सरकार र प्रतिपक्ष सहमतिमा उभिनुपर्छ, तब मात्र संविधान कार्यान्वयन हुन्छ, यदि सहमति भएन भने फेरी द्वन्द्व सिर्जना पनि हुन सक्छ ।’

उनले सरकारले यातायातमा गरेको दर्ता नवीकरण नगरी खारेज गर्ने नीतिका बारेमा आपूmलाई केही थाहा नभएकाले त्यसो काम सरकारले नगर्ने बताए । यसैगरी कांग्रेसका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं. ३ का सभासद् बालकृष्ण खाँडले अहिलेको सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाए । उनले मधेस आन्दोलन, कालो बजारी, संविधान कार्यान्वयन केही गर्न नसकेको आरोप लगाए । उनले सरकारले अहिले स–साना कामलाई प्राथमिकतामा राख्नुभन्दा संविधान कार्यान्वयनतर्फ जोड दिन आग्रह गरे । उनले भने, ‘सरकारले काम गर्ने बेलामा यतिकै बसेमा सरकारको दिन गन्ती सुरु हुन्छ, ओलीको उखान टुक्काले देश चल्दैन ।’

त्यसैगरी नेपाल राष्ट्रिय यातायात महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष डोलनाथ खनालले यातायात क्षेत्रमा देखिएको अव्यवस्थालाई हटाउन केन्द्रदेखी जिल्ला तहसम्म कार्यदल बनाउनुपर्नेमा जोड दिए । उनले यातयातलाई सुधार गर्न नीतिगत सुधारको आवश्यकता रहेको भन्दै रुट निर्माण गर्नुपर्ने बताए । ट्रक व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाटले भारतीय ट्रकहरूलाई नेपाल प्रवेश नीति खारेज गर्न माग गरे ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, संघका पूर्वअध्यक्ष चोपनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका अध्यक्ष दधिराम खरेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेको स्वागतमा भएको कार्यक्रमको सञ्चालन महासचिव जीवनकुमार बञ्जाडेले गरेका थिए ।

कार्यक्रमको अवसरमा पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलले हरेक वर्ष वितरण गर्ने यातायात संवाहक पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार विश्वास ढकाललाई पुरस्कृत गरेको छ ।

प्रतिक्रिया