जुवा खालबाट १२ पक्राउ

काभ्रे, २९ चैत । काभ्रेको बनेपाबाट प्रहरीले १२ जनालाई जुवा खेल्दै गरेको अवस्थमा पक्राउ गरेको छ । सदरमुकामबाट ५ मिनेटको दुरीमा रहेको बनेपास्थित पुष्पलाल खुप्पाको घरमा जुवा खेल्दै गरेको अवस्थामा घरधनी खुप्पासहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २ जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ । २८ चैत दिउँसो ३ बजे जुवा खेल्दै गरेको खालबाट १ लाख ७३ हजार नगदसहित ताससमेत बरामद गरेको छ । पक्राउ परेकाहरूलाई जुवा ऐन २०२० अन्तर्गतको कारवाहीे हुने प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरूमा नाला–९ का अर्जुन विक, नाला–८ का रामगोपाल बजगार्इं, खार्पाचोक–२ का प्रेम लामा, उग्रचण्डीनाला–८ का भोलाप्रसाद बजगाईं, बनेपाका हरिगोपाल श्रेष्ठ, सालधारा–९ रामबहादुर बजगार्इं, शिखरआम्बोटे–९ का रामशरण राउत, उग्रतारा जनागाल–१ का अनिरुद्र खड्का, मकवानपुर धियाल–६ का अशोक लामा रहेका छन् । यस्तै ललितपुर टिकाथली–२ का दिनेश राना मगर र भारत बिहार मोतिहारी वरेवा–४ घरभई बनेपा बस्दै आएका चन्दन जैसवाल, भारतको बिहार र रक्सौल–१० घरभई हाल बनेपा १० नै बस्दै आएका नेशार आलमलाई प्रहरी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका निरीक्षक दीपक भारतीले जानकारी दिए ।

प्रतिक्रिया