स्ववियु निर्वाचन मिति अनिश्चित

काठमाडौं, २९ चैत । विद्यार्थी संगठनहरूबीच देखिएको उमेर विवादले फेरि पनि स्ववियु निर्वाचन अन्योलमा पर्ने देखिएको छ । गत ७ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्व विद्यालयले तयारी गरिरहेकै अवस्थामा विद्यार्थी संगठनहरूबीच देखिएको उमेर हदको विवादले यो अन्योलमा परेको हो ।

नेपाल विद्यार्थी संघ र एमाओवादी निकट अखिल क्रान्तिकारीले उमेर हदवन्दीको विषयमा फरक मत राखेका छन् । त्रिविविले विद्यार्थी संगठनसँंग निर्वाचनबारे छलफल गरेर मिति घोषणा गर्ने तयारी गरे पनि २ संगठनबीच उमेर हदमा विवाद देखिएपछि मिति तोक्न सकेको छैन । ३ ठूला संगठनमध्ये एमाले निकट अनेरास्ववियु मात्र जस्तोजुकै विधि अपनाएर भए पनि चुनाव हुनुपर्नेे पक्षमा देखिएको छ ।

नेविसंघ र अखिल क्रान्तिकारीबीच २८ वर्षे उमेर हद राख्ने कि नराख्ने भन्नेमा विवाद देखिएको छ । नेविसंघले अहिलेको निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी नलगाउने र क्रान्तिकारीले २८ वर्षे उमेर हदबन्दी लगाउनुपर्ने अडान राखेका छन् । ०६९ सालमा बनेको स्ववियु नियमावली पारित गर्दा आगामी निर्वाचनमा उमेर हद लगाउने सहमति भएको थियो । नेविसंघले २८ वर्षे उमेर हदबन्दी लागू गर्न नहुने माग राख्दै बिहीबार त्रिविवि पदाधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

त्रिविकी रेक्टर प्राडा सुधा त्रिपाठीले उमेर हदबन्दीका विषयमा विद्यार्थी संगठन बाँझिदा मिति तोक्न नसकिएको बताइन् । उनले नेविसंघ र क्रान्तिकारी संगठनबीच २८ वर्षे उमेर हदबन्दीका विषयमा विवाद देखिएको बताएकी छन् । उनका अनुसार अखिलले मात्र उमेर हदबन्दी जे भए पनि निर्वाचन हुनुपर्ने बताएको छ । उनले भनिन्, ‘अनेरास्ववियु मात्र उमेर हद्का विषयमा बाधक बनेको छैन ।’

स्ववियु निर्वाचनबारे अन्तिम गृहकार्यका पुगेको त्रिविविले बुधबार ३ ठूला संगठनसँग उमेर हदबन्दीमा छलफल गरेर स्ववियु निर्वाचनको मिति घोषणा गर्ने तयारीमा थियो । त्रिविले वैशाखको दोस्रो हप्ता निर्वाचन हुने गरी मिति घोषणा गर्ने तयारी गरेको थियो ।

रेक्टर त्रिपाठीले उमेर हदबन्दी लगाउने नलगाउने विषयमा आफूहरूले केही गर्न नसक्ने बताइन् । उनले ९ वैशाखमा बस्ने त्रिविवि सभाको बैठकले उमेर हदका बारेमा छलफल गरी अन्तिम टुंगो लगाउने बताएकी छन् । ‘हामी ३ पदाधिकारीले मात्र उमेरको सम्बन्धमा केही बोल्न मिल्दैन’ उनले भनिन्, ‘दुई संगठन मिले राम्रो । होइन भने ९ वैशाखमै त्रिविवि सभाले उमेरको हदवन्दीको विषयमा निर्णय लिनेछ ।’ योे विवाद मिलेपछि त्रिविविले स्ववियु निर्वाचन घोषणा गर्ने पनि उनले बताइन् ।

०७० साल जेठमा पनि स्ववियु निर्वाचन हुने बहस चर्चामै सीमित भएको थियो । त्यतिवेला अखिल र अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी भर्ना गरेकाले विवाद उत्पन्न हुँदा निर्वाचन नै स्थगित भएको थियो । प्रत्येक २÷२ वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी संगठनबीच सहमति नहुँंदा ०६५ साल यता हुन सकेको छैन ।

नेविसंघका प्रवक्ता युपी लामिछानेले २८ वर्षे उमेरको हदबन्दी हुनै हालतमा मान्न नसकिने बताएका छन् । ‘१ निर्वाचन गरिसकेपछि २८ वर्षको हदबन्दी लगाउने कुरा भएको हो’, उनी भन्छन्, ‘तर अहिलेसम्म एउटा निर्वाचन पनि भएको छैन । त्यसैले हामी २८ वर्षे हदबन्दी मान्दैनौँ ।’

उनले स्ववियुकै लागि आफ्नो जीवन मरण क्याम्पसमा बिताएका साथीहरूलाई वाइपास गरेर आफूहरूले अहिल्यै नै २८ वर्षे उमेर हदबन्दी नमान्ने बताए । ‘स्ववियु निर्वाचन भनेर केही साथी अझै क्याम्पस कै राजनीतिमा लागेका छन्’ उनले भने ।

अखिलका महासचिव ऐन महरले अहिलेको महत्वपूर्ण माग स्ववियु निर्वाचन भएकोले आफ्नो संगठनले उमेरको विषयमा विवाद नगर्ने बताए । ‘हाम्रो अहिलेको माग स्ववियु निर्वाचन हो । उमेर हदबन्दीमा हाम्रो बखेडा छैन’ उनी भन्छन्, ‘तर, नेविसंघ र क्रान्तिकारी फेरि उमेर हदबन्दीमा विवाद गरेर निर्वाचन नगराउने खेलमा लागेका छन् ।’

यता अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले अहिलेकै विद्यमान निर्वाचन प्रणालीमा त्रिविले निर्वाचन घोषण गरे सबै संगठन सहभागी हुने बताए । उनले वैद्य, विप्लव र मधेसी विद्यार्थी सबैलाई समेटर जानु परेकोले अहिलैकै निर्वाचन प्रणालीको विकल्प नभएको बताए । उनले नेविसंघले भनेजस्तो उमेरको हद नतोके अन्य संगठनले नमान्ने बताए । ‘नेविसंघले भने जस्तै २८ वर्ष उमेर हदबन्दी नराखे अन्य विद्यार्थी साथीहरूले मान्दैनन्’ उनले भने, ‘वैद्य, विप्लप र मधेसवादी दलहरूले २८ वर्ष उमेरको हद नराख्ने हो भने पूर्ण समानुपातिकको कुरा उठाउनेछन् । त्यसैले निर्वाचन गर्न २८ वर्षको उमेर हदबन्दी लगाउनु पर्दछ ।’ उनले यस विषयमा नेविसंघभित्र २ धार देखिएको पनि बताए । ‘वहालवाला नेतृत्व निर्वाचन गर्ने पक्षमा देखिएको छ’ उनले भने, ‘तर, अर्कोपक्ष भने स्ववियु निर्वाचन नभएर महाधिवेशनको पक्षमा देखिएको छ ।’

प्रतिक्रिया