१३औँ फेवा नववर्ष महोत्सव सुरु

पोखरा, २८ चैत । पश्चिमाञ्चल होटेल संघ, नेपालद्वारा आयोजित १३औँ फेवा नववर्ष महोत्सव पर्यटकीय नगरी पोखराको फेवा किनारस्थित वसुन्धरा पार्कमा आइतबारदेखि सुरु भएको छ । पोखराको समग्र पर्यटकीय विकासमा सहयोग पु¥याउँदै पोखरा भित्रिएका पर्यटकको बसाइ लम्ब्याउने लक्ष्यका साथ आयोजित महोत्सव आगामी २ वैशाखसम्म चल्नेछ ।

महोत्सवको आइतबार आयोजित उद्घाटन समारोहमा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले भूकम्प, नाकाबन्दीजस्ता विभिन्न पीडाका बाबजुद नयाँ संविधान प्राप्त भएका वर्षका रूपमा ०७२ रहेको स्मरण गर्दै आगामी नयाँवर्ष देशको समृद्धि र विकासको वर्ष हुने बताए ।

पर्यटकीय विकासमा गुणस्तरको विशेष महत्व हुनेमा जोड दिँदै उनले गुणस्तरीय सेवा प्रवाहका साथै विद्यमान कला संस्कृतिको जगेर्ना पर्यटकीय विकासका लागि अपरिहार्य हुने बताए । कांग्रेसका नेता एवं सांसद यज्ञबहादुर थापाले आन्तरिक एवं बाह्य पर्यटनका विभिन्न सम्भावना बोकेको पोखरा र यस आसपासका क्षेत्रमा उपलब्ध पूर्वाधारको अधिकतम उपयोग गर्नुपर्ने बताए । पोखरेली जनताको लामो संघर्षबाट अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढ्न लागेको बताउँदै उनले यो कुनै दल वा व्यक्ति विशेषको मात्र नभई आम पोखरेली जनताको उपलब्धि र गौरवको विषय भएको विचार राखेका थिए ।

एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले पोखराको पर्यटकीय विकासका लागि पर्यटनसम्बद्ध संघसंस्था एवं निकायले देखाएको सक्रियता प्रशंसायोग्य भएको बताए । एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले पर्यटकीय विकासलाई लक्षितगरी गरिने मेला महोत्सवलाई पनि समयसापेक्ष परिमार्जित गर्दै लगिनुपर्नेमा जोड दिए । पश्चिमाञ्चल होटेल संघका अध्यक्ष भरतराज पराजुलीले भूकम्प र नाकाबन्दीबाट तहसनहस बनेको पोखराको पर्यटनलाई पुनः जागृत गर्दै आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ लम्ब्याउने सोचका साथ महोत्सव आयोजना गरिएको उल्लेख गरे ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश खनाल, नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, लोकदोहोरी गायक प्रजापति पराजुली, पोखरा पर्यटन पुनः जागरण समितिका संयोजक गणेशबहादुर भट्टराई, पश्चिमाञ्चल होटेल संघका संस्थापक अध्यक्ष रमेशबहादुर भट्टराई, पर्यटन व्यवसायी वासु त्रिपाठीलगायतले ०७२ सालमा भूकम्प र नाकाबन्दीका कारण प्रभावित पर्यटन आगामी नयाँ वर्षमा उत्साहजनक रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । महोत्सव उद्घाटन समारोहमा विभिन्न संघसंस्थाका तर्फबाट विभिन्न झाँकी प्रस्तुत गरिएकोमा क्रमशः नेवा कचा खल बैदाम, बंगलादी आमा समूह, बाँझाको पाटन तमु समाज र तीन गाउँले थकाली समाज क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । उनीहरूलाई क्रमशः १० हजार, ८ हजार, ५ हजार र ३ हजार रूपैयाँबाट पुरस्कृत गरिएको थियो । ५ दिनसम्म चल्ने महोत्सवमा सांस्कृतिक कार्यक्रममा मनोरञ्जन लिँदै विभिन्न खाने कुराको स्वाद लिनसक्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया