ट्रेड युनियनको निर्वाचनमा खिचलो

काठमाडौं, २८ चैत । सरकारले आगामी १० वैशाखमा तोकेको आधिकारिक कर्मचारी ट्रेड युनियनको निर्वाचनमा खिचलो उठेको छ । निर्वाचनमा मतको सीमा राख्न नहुने भन्दै एमाओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, वैद्य नेतृत्वको माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन, मधेसी दल निकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च र नेपाल राष्ट्रसेवक कर्मचारी संगठन आन्दोलनमा उत्रिएपछि विवाद बढेको हो ।

निर्वाचनको विरुद्धमा सिंहदरवारस्थित सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरिरहेका ४ निजामती कर्मचारी संगठनआबद्ध केही कर्मचारीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्मुम्न कार्कीले १० जना कर्मचारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनले कर्मचारीहरू तोडफोडमा उत्रिएका कारण पक्राउ गर्नुपरेको बताए ।

कर्मचारी संयुक्त संघर्ष समितिका प्रवक्ता प्रभासप्रसाद साहले भने १८ जना कर्मचारीलाई पक्राउ गरिएको र उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको बताए । कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, एमाले निकट नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र भने मत सीमा राख्नुपर्ने र तोकिएकै समयमा निर्वाचन हुनपर्ने पक्षमा छन् । यसअघि आइतबारलाई निर्वाचन गर्ने भनिएकामा समयअभावका कारण आगामी १० वैशाखलाई सारिएको थियो । यसैबीच, प्रदर्शनको तस्बिर लिने क्रममा प्रहरीले फोटो पत्रकार कविन अधिकारीलाई कुटपिट गरेको छ ।

प्रतिक्रिया