पत्रकारमाथि प्रहरीको आक्रमण : महासंघलगायत सम्बद्व संस्थाहरूद्वारा भत्र्सना

काठमाडौं, २८ चैत । समाचार संकलनको क्रममा प्रहरीले अनलाइनखबरका फोटो पत्रकार कविन अधिकारीमाथि कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघ र फोटो पत्रकार क्लबले भत्र्सना गरेका छन् । आइतबार विज्ञप्ति निकालेर पत्रकारिता पेसाको सम्मान गर्न सरकार र सबै सुरक्षा निकायलाई सचेत गराइएको छ ।

सिहंदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरूद्वारा भइरहेको आन्दोलनको फोटो खिच्ने क्रममा पत्रकार अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई लाठी प्रहार गरी घाइते बनाएका थिए । आइतबार महासंघका महासचिव उजीर मगरले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकलाई सुसूचित गराउने धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीबाट भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला हो । महासंघ पत्रकार अधिकारीमाथि भएको प्रहरी ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दछ ।’ महासंघले घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।

यसैगरी फोटो पत्रकार क्लबका महासचिव विकास कार्कीले विज्ञप्ति निकालेर देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमै भएको यो घटनाले गृहप्रशासनको वास्तविक अनुहार उदांगो भएको उल्लेख छ । ‘परिचयपत्र र क्यामरा देखाउँदा देखाउँदै प्रहरीले गरेको दमनको ढाकछोप गर्न बर्दीधारीहरू गुण्डागर्दी शैलीमा खनिएका थिए,’ महासचिव कार्कीले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘पटकपटक पत्रकारहरूमाथिको आक्रमण जनताको सूचनाको हक, प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । अपराधमा संलग्नलाई कारवाहीको माग गर्दछौँ ।’ फोटो पत्रकार क्लबका सदस्यसमेत रहेका अधिकारीलाई फोटो खिचेको आरोपमा लाठी र बुट बर्साउनु लोकतन्त्र, विधिको शासन विपरीत भएको विज्ञप्तिमा उल्लेख छ ।

रिपोटर्स क्लबले पनि विज्ञप्ति निकालेर सञ्चारकर्मीमाथि आक्रमणको यो घटना सिंगो पत्रकारितामाथिको आक्रमण भएको भन्दै घोर निन्दा एवं भत्र्सना गरेको छ । रिपोट्र्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले विज्ञप्ति निकालेर नेपाली जनताको सूचनाको हकलाई कार्यान्वयन गर्न प्रतिबद्ध भई दिन दिनरात नभनी लाग्ने पत्रकारमाथिको आक्रमणले फेरि एकपटक नेपालमा प्रेस स्वतन्त्रताको अवस्था अत्यन्तै दयनीय रहेको स्पष्ट पारेको बताएका छन् ।

एउटा सञ्चारकर्मीको बाँच्न पाउने अधिकार नै हनन गर्न खोजिएको, सूचनाको हकको अपहरण गर्न खोजेको यो घटनामा संलग्नमाथि तत्काल कडाभन्दाकडा कारवाही गर्न मागसमेत गरिएको छ यसैबीच नेपाल प्रेस युनियन काठमाडौं शाखाले पनि विज्ञप्ति प्रकाशित गरी अधिकारीमाथि प्रहरी आक्रमणको भत्र्सना गरेको छ ।

यसैबीच अनलाइन पत्रकार संघको पनि विज्ञप्ति प्रकाशित गरी अधिकारीमाथि प्रहरी आक्रमणको भत्र्सना गरेको छ ।

प्रतिक्रिया