बिस्केट जात्रामा एकको मृत्यु

भक्तपुर, २८ चैत । भक्तपुरमा शनिबार रातीदेखि सुरु भएको बिस्केट जात्रामा रथमा च्यापिएर घाइते भएका १ जनाको उपचारका क्रममा राती मृत्यु भएको छ । नयाँवर्षको आगमनसँगै सुरुभएको जात्रामा जाँदा भक्तपुर नगरपालिकाका ४५ वर्षीय लक्ष्मीप्रसाद त्यातको वीर अस्पताल ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिए ।

त्यसैगरी मध्यरातीसम्म तौमढी (पाँचतले मन्दिर) बाट तल्लो र माथिल्लो भेगका बासिन्दाबीच ढुंगा हानाहान भएको थियो । अपराह्न ५ बजेर १५ मिनेटमा तौमढीबाट तल र माथिका बासिन्दाले भैरवको रथ तान्न सुरु गरेका थिए । रथ माथिल्लो भेगका बासिन्दाले गोल्मढीसम्म पु¥याएका थिए ।

विगतमा दत्तात्रयसम्म पु¥याइने रथ यसवर्ष भूकम्पले टेको लगाइएका घरहरू भत्किन सक्ने भन्दै प्रहरीले क्वाछेबाट माथि लैजान नदिन बार लगाए पनि स्थानीयवासीले बार हटाएर गोल्मढीसम्म पु¥याएका थिए । गोल्मढीबाट रथलाई तानेर पुनः तौमढी ल्याइएपछि नासमनातर्फ लैजाने कि गःहिटीमै राख्ने भन्ने विवाद भएपछि राती ९ बजेदेखि ढुंगा हानाहान भएको थियो ।

करिब १ घन्टाको झडपपछि तल्लो भेगका बासिन्दाले रथलाई नासमनातर्फ लगेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्जसमेत गरेको थियो । त्यसपछि प्रहरीमाथिसमेत ढुंगा हान्न थालियो ।

ढुंगा हानाहानबाट ८ प्रहरी र स्थानीयवासी घाइते भएकामा केहीलाई उपचारपछि घर पठाइएको र केहीको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले जात्रामा हुलदंगा गर्न खोज्ने ४ जनालाई नियन्त्रणमा लिएको छ । बिस्केट जात्रा आगामी वैशाख ५ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया