चमेलिया जलविद्युत् आयोजनाको काम अगाडि बढेन

chameliya copyकाठमाडौं, २६ चैत । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले तत्काल निर्माण प्रक्रिया सुरु गर्न निर्देशन दिएको ४ महिना पूरा हुन लाग्दासमेत चमेलिया जलविद्युत् आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।

लेखा समितिले गत १२ पुसमा सो आयोजनाको काम तत्काल अगाडि बढाउन र कुनै पनि बहानामा काम नरोक्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो । तर, चमेलियाको काममा हालसम्म कुनै ठोस प्रगति हुनसकेको छैन ।

प्रसारण लाइनमा रहेको विवाद समाधान भएर निर्माण सम्पन्न हुन लाग्दासमेत सिभिलतर्फको काममा भने कुनै प्रगति हुन सकेको छैन । आयोजनाको ८ सय ४३ मिटर सुरुङ खुम्चिएको विषय नै बढ्ता चासोमा रहेको भए पनि नेपाल विद्युत् प्राधिकरणले समस्या समाधान गर्नेतर्फ पहल नगरेको गुनासो समेत आउन थालेको छ ।

खुम्चिएको सुरुङमध्ये ६ सय ११ मिटर पुनर्निर्माण भइसकेको र बाँकी रहेको २ सय ३२ मिटर सुरुङ तत्काल मर्मतसम्भार गर्न समितिले दिएको निर्देशन प्राधिकरणले अटेर गरेको समेत अथ्र्याउन थालिएको छ । प्राधिकरण सञ्चालक समितिले सुरुङ खुम्चिएको विषयमा तत्काल ७५ प्रतिशत भुक्तानी दिने र काम अगाडि बढाउन गरेको आग्रह चिनियाँ ठेकदार कम्पनीले अस्वीकार गरेको बुझिएको छ । चिनियाँ ठेकदार कम्पनी गेजुवाले प्राधिकरणको प्रस्ताव अस्वीकार गरेपछि अब कसरी अगाडि बढ्ने भन्नेमा कुनै निर्णय गरेको छैन ।

ठेकेदारले सुरुङ खुम्चिएको विषयमा १ अर्ब ९ करोड रकम भेरियसनवापत उपलब्ध गराइदिन आग्रह गरेको थियो । ०७१ असार ६ गते भेरियसन अर्डरबाट समय र लागत बढाइदिन आग्रह गरेको र सो माग गलत भएको भन्दै लेखा समितिमा उजुरी परेको थियो ।

आयोजनाका कर्मचारी अजय दाहालका अनुसार इलेक्ट्रो मेकानिकलको काम अन्तिम चरणमा पुगेको भए पनि सिभिलतर्फको काम सम्पन्न नहुँदा समस्या हुने देखिएको छ । विद्युत्गृहदेखि कैलालीको अत्तरियासम्मको १ सय ३२ केभी क्षमताको १ सय ३१ किलोमिटर प्रसारण लाइन आगामी १० दिनभित्र सम्पन्न हुनेछ ।

यस्तै आयोजनाकै अर्का कर्मचारी पुष्पराज जोशीका अनुसार सुरुङ खुम्चिएको विषयमा प्राधिकरणले नै ठोस निर्णय गरेर काम अगाडि बढाउनुपर्छ । ठेकेदारलाई कसरी काममा लगाउने भन्ने विषयमा परामर्श जारी रहेको उनको भनाइ छ ।

उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी आयोजनाका सम्बन्धमा देखिएको विवादित विषयमा मूल्यांकन गरेर भुक्तानी दिने र काम अगाडि बढाउन प्राधिकरणलाई निर्देशन दिएको बताउँछन् ।

ऊर्जा मन्त्रालयले आगामी ७ महिनाभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिइसकेको जनाएको छ । लेखा समितिको बैठकमा ऊर्जासचिव सुमनप्रसाद शर्माले आयोजनाका अरू काम अगाडि बढिरहेको र सुरुङ खुम्चिएको विषयमा प्रष्ट निर्णय आउने वित्तिकै आयोजना सम्पन्न हुने जानकारी गराएका थिए । ।

इन्धनको अभावमा केही समस्या परेको भए पनि पछिल्लो दिनमा वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालयको समन्वयमा आयोजनाले इन्धन पाएको तथा हाइड्रोमेकानिक र इलेक्ट्रोमेकानिकल ठेकेदारले काम लगभग सम्पन्न गर्ने चरणमा पु¥याएको छ ।

प्रतिक्रिया