वैशाखबाट बाँकेमा क्यान्सर उपचार

नेपालगञ्ज, २६ चैत । अर्थ राज्यमन्त्री दामोदर भण्डारीले बाँके जिल्लाको खजुरामा निर्माणाधीन नेपाल क्यान्सर अस्पतालको शुक्रबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा राज्यमन्त्री भण्डारीलाई अस्पतालका अध्यक्ष किस्मतकुमार कक्षपतिले अस्पतालबाट पहिलो चरणको सेवा आगामी १५ वैशाखबाट सञ्चालन हुने जानकारी गराए ।

त्यस अवसरमा राज्यमन्त्री भण्डारीले सरकारको तर्फबाट अस्पताल निर्माणका लागि आर्थिकलगायत आवश्यक सहयोग जारी रहने प्रतिबद्धता जनाए । अस्पताल निर्माणका लागि हालसम्म सरकारले २७ करोड रुपियाँ उपलब्ध गराइसकेको र ५ करोड रुपियाँ स्थानीय सहयोगबाट जुटाइएको अध्यक्ष कक्षपतीले जानकारी गराए । प्रखर परोपकार मिसन नेपालबाट प्रस्तावित नेपाल क्यान्सर अस्पतालको निर्माण कार्यमा ८५ करोड रुपियाँ खर्च हुने बताइएको छ ।

अस्पतालले आगामी आव ०७३/७४ का लागि ३९ करोड ८० लाख बजेट सरकारसँग माग गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका सामाजिक संस्थाबाट पनि सहयोग लिने प्रक्रिया अघि बढाइएको अध्यक्ष कक्षपति बताउँछन् ।

क्यान्सरका बिरामीलाई २ लाख रुपैयाँसम्म निःशुल्क उपचार खर्च दिने सरकारको नीतिअन्तर्गत अस्पतालले सेवा प्रवाह गर्नेछ भने भरतपुरको बिपी मेमोरियल क्यान्सर अस्पतालसँग प्राविधिक सहयोगको २ पक्षीय सहमति भएको छ ।

मध्य तथा सुदूरपश्चिमका क्यान्सरका बिरामीलाई सहज उपचार सेवा दिने उद्देश्यले ६ वर्षअघि स्थानीय खजुरावासीको मुठ्ठी दानबाट संकलित रकमबाट अस्पताल निर्माणका लागि गरिएको प्रयास अन्ततः पूरा हुने संघारमा पुगेकाले जनस्तरबाट ‘गरे के हुन्न’ को मान्यतासमेत स्थापित भएको छ । अस्पतालले पहिलो चरणअन्तर्गत १५ वैशाखदेखि सेवा सञ्चालन गर्न तत्काल ‘लियानायक’ ‘मोरुरल’ ओटी मेसिन खरिद गर्न पनि सरकारसँग कागजी प्रक्रिया अघि बढाएको अध्यक्ष कक्षपतिले बताए ।

प्रतिक्रिया