परीक्षार्थीले नवजात शिशु फाले

दोलखा । बुधबार बेलुकी करिब ५ बजेतिर जंगलमा फालिएको सालनालसहितको नवजात शिशु एसएलसी दिँदै गरेकी अविवाहित युवतीको भएको पुष्टि भएको छ । एसएलसी दिएर फर्केकी एक विद्यार्थीले आफूले जन्माएको शिशु फालेकी हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारका अनुसार अहिले एसएलसी दिँदै गरेकी भीनपा–१० लेकटोलकी १८ वर्षीया प्रमिला विश्वकर्माले अवैध यौनसम्बन्धबाट जन्मिएको शिशु फालेको बताए । शिशुको शुक्रबार बिहान नै मृत्यु भइसकेको छ । अहिले सुत्केरी आमा प्रमिलाको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भइरहेको छ ।

प्रमिलालाई जिल्ला प्रहरी कार्यालय दोलखाले एसएलसी परीक्षा पनि उपचार गराइरहेको स्थलमा नै दिन लगाएको सुनुवारले बताए । नवजात शिशुको जंगलमा फालेका कारण मृत्यु भएकाले प्रमिलालाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत कारबाही चलाइने जानकारी पनि उनले दिए ।

बुधबार एसएलसीको परीक्षा सकेर प्रमिलाले जंगलमा आफूले जन्माएको बच्चा फालेकी थिइन् । स्थानीय जनताले जंगलमा झिँगा भन्किरहेको अवस्थामा जीवितै देखेपछि प्रहरीलाई खबर गरेको थियो । शिशुको उपचारका क्रममा मृत्यु भएको हो । (सौस)

प्रतिक्रिया