‘टहरामा पनि छोडेन दैवले’

काभ्रे, २६ चैत । भूकम्पपीडितको टहरामा आगलागी भएको छ । जिल्लाको खार्पाचोक–७ को पात्लेभिर बस्तीमा आगलागी भएको छ । पात्लेभिरबाट सुरु भएको डढेलो हावाहुरीका कारण बस्तीमा पसेपछि भूकम्पपीडितको घर र अस्थायी टहरा जलेको छ ।

खार्पाचोकको बाबियोडाँडाका धनमान तामाङसहितको लस्करै रहेको ४ जनाको घर टहरामा आगलागी हुँदा सबै जलेर नष्ट भएको छ । स्थानीय डोल्मा लामाका अनुसार डँढेलोले अरू बस्तीहरू पनि जोखिममा रहेको बताइएको छ । शुक्रबार साँझ ७ बजेसम्म पनि डढेलो ठूलो भएको र निभाउन नसकेको कारण अझै ८ घर जोखिममा रहेको लामाले टेलिफोनमा जानकारी दिए ।

आगलागी भएको घटना सार्वजानिक भएपछि आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यलय मंगलटार र प्रहरी चौकी कटुञ्जेबाट टोली परिचालन गरिएको बताईएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी नविनकुमार राईले दिएको जानकारीअनुसार ज्ञानबहादुर तामाङ लालमान तामाङ, बिकुनारायण लामालगायतको घर पूरै जलेर नष्ट भइसकेको छ ।

आगलागीमा सञ्चालनमा आउने तयारी भइरहेको १ लघु जलविद्युत्को भवनसमेत पूरै जलेर नष्ट भएको बताएका छन् । घटनापछि नेपाली सेनाको २६ नं बाहिनी भकुन्डेबाट पनि टोली खटिएको टोलीले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेको बताएका छन् । स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रणमा कठिनाई भइरहेको बताएका छन् ।

डढेलो खार्पाचोकबाट सिपालीतर्फ बढ्दै गएकोले थप क्षति हुन सक्ने स्थानीयको भनाइ छ । आगलागीले सबै सामानहरू जलेर नष्ट भएका भूकम्पपीडित ज्ञान तामाङ भन्छन् दैवले टहरालाई पनि छाडेन भूकम्पमा त जसोतसो बाँचेका थियौँ अबका दिन के पो गर्ने हो कुनै उपाय छैन भक्कानिँदै उनले भने । जिल्लामा यसअघि पनि हावाहुरीले पीडितका टहराहरू उडाएको खबर आएका थियो ।

प्रतिक्रिया