सँगै एसएलसी दिँदै आमा र छोरी

प्यूठान, २२ चैत । प्यूठानको दुर्गम क्षेत्र मानिने दाङ्वाङ–७ का आमाछोरीले यसपटकको एसएलसी सँगै दिएका छन् । यस पटकको एसएलसी परीक्षामा सहभागी आमा नर्मता कर्णेल र छोरी वसन्ता कर्णेलले पढ्नेका लागि उमेरले नछेक्ने उदाहरण प्रस्तुत गरेका छन् । ०३६ सालदेखि लगातार एसएलसीमा सहभागी हुँदै आएकी आमा नर्मताले यसपटक छोरीसँगै परीक्षा दिन पाउँदा आफूलाई खुसी लागेको समेत बताएकी छन् । ‘एकपटक फेल भएमा महिलाले पढ्न छोड्छन्,’ उनले भनिन्, ‘पढ्न र सीप सिक्नका लागि उमेरले छेक्दैन । फेल हुँदैमा वा उमेरका कारण लाज मानेमा हाम्रो शिक्षामा पहुँच पुग्दैन ।’

दाङ्वाङ स्वास्थ्य चौकीमा विगत २१ वर्षदेखि मातृशिशु कार्यकर्ताका रुपमा स्थायी जागिर गर्दै आएकी नर्मता यसपटक छोरी वसन्तासँगै एसएलसी दिँदै छिन् । तीन सन्तानकी आमा नर्मताका पति झविलाल कर्णेल पनि लालमटिया स्वास्थ्य चौकी भालुवाङमा अहेबका रुपमा कार्यरत छन् । जेठो छोरा निमानन्द कर्णेलले हाल बिबिए उत्तीण गरी डिग्री पढ्दै गरेको नर्मताले बताइन् ।

दाङ्बाङ माविमा अध्ययन गर्दै आएकी नर्मताले मोति उच्च मावि, बरौला परीक्षा केन्द्रबाट र १९ वर्षीया छोरी वसन्ताले भानुभक्त उच्च मावि बर्बोटबाट यसपटकको एसएलसी सहभागी छन् । छोरी वसन्ताले आमा र आफूले सँगै एसएलसी परीक्षा दिँदा तयारीमा समेत सहयोग पुगेको बताइन् ।

प्रतिक्रिया