सहकारी आन्दोलनको मर्म

सामान्य व्यक्ति आफैँ लगानी गर्ने, आफैँ मुनाफा कमाउने र आफैँ साहु बन्ने सिद्धान्तअनुसार सुरु भएको सहकारी आन्दोलनले ५९ वर्ष पूरा गरेको छ । नेपालमा पनि अन्यत्रझैँ सहकारी दिवस भव्यताका साथ मनाइँदै छ । हरेक आन्दोलनको आफ्नो महत्व र त्यहाँको अन्तरगुण हुन्छ नै । सहकारी आन्दोलनको सैद्धान्तिक व्याख्या पछिल्लो समय भिन्न ढंगले गरिन थालियो । व्याख्या जे भए पनि सहकारी अर्थतन्त्रले फड्को मार्दा संसारभर केही महत्वपूर्ण उपलब्धी भए । भारतमा रहेको अमूल दूधलगायत उत्पादन सहकारी आन्दोलनको महत्वपूर्ण पाटो हो ।

नेपाली समाज पछिल्लो केही दशकयता आधुनिकताको विकासमा त लम्कियो । तर, दुःखको कुरा नेपालमा समाज भत्किएर बजारको निमार्ण हुँदै छ । अपनत्व, आफन्त र सामुहिकताको भावना मौद्रीय लेखाजोखामा नापिन थालिएको छ । एकातिर समाज त्यसतर्फ लम्किइरहँदा सहकारीको संख्यामा व्यापक वृद्धी भएको छ । नेपालमा सहकारी आन्दोलनले दिएको सबैभन्दा ठूलो उपलब्धी नै यही हो कि समाजलाई बजारमा रूपान्तरण गर्न सहकारीकर्मीको भूमिका महत्वपूर्ण रहेको छ । तथापि केही समस्या देखिएका छन् । चाँडो मुनाफाको लोभमा अनिश्चित लगानी, सेयरको मापदण्ड अनुशासित नहुनु र सहकारीलाई कम पुँजी भएको बैंकको रूपमा व्याख्या गर्नुले सहकारी आन्दोलनमा गम्भीर धक्का लागेको छ । लगानी गर्न प्रेरित धनाढ्यहरूले लगानी गर्ने र अत्यधिक मुनाफा कमाउने पद्धति पुँजीवादी अर्थतन्त्र हो । बैंकिङ प्रणली पुँजीवादी अथतन्त्रको एउटा अंक भएको कुरामा विमती हुन सक्दैन । सहकारीलाई वचत तथा ऋण सहकारीको रूपमा मात्र बुझ्नु, बैंकिङ पद्धतिमा चल्नु र चाँडो धन कमाउने लोभमा आर्थिक अनुशासन गुमाउनु सकारी आन्दोलनको समस्याका कारक बनेका छन् । केही सहकारी लगानी डुबेर वचतकर्ताको निक्षेप बुझाउन नसकेर भागेका थुप्रै उदाहरण छन् । अन्य समस्या पनि नभएका होइनन् ।

नेपालजस्तो भौगोलिक तथा समाजिक परिवेश भएको देशमा सहकारी आन्दोलनको आफ्नै महत्व छँदैछ । सरकारी रूपमै तीन खम्बे अर्थनीतिको सोच अघि बढिसकेको छ । यसका साथै सहकारीकर्मीको संख्या पनि बढ्दो छ । यस अर्थमा नेपालमा सहकारी आन्दोलन अर्थतन्त्रको प्रमुख हिस्सा भएको कुरालाई नकार्न मिल्दैन । ५९औँ सहकारी दिवस भव्यताका साथ देशभर बनाइएको छ । विभिन्न कार्यक्रममा सहकारीकर्मी व्यस्त रहे । आशा गरौँ यसै सहकारी दिवसपछि सहकारीकर्मीेले एउटा प्रतिबद्धता व्यक्त गर्नेछन् । सहकारीलाई सहकारीकै मर्मअनुसार मात्र चलाउने योजना बनाउँदै नीतिगत निर्णयको जमर्को पनि गरुन् । यस क्षेत्रमा विद्यमान केही कमजोरीमा सुधार भयो भने सहकारी आन्दोलनले खस्किएको नेपाली अर्थतन्त्रलाई उकास्न केही सहयोग गर्न सक्नेछ ।

प्रतिक्रिया