विश्वसमुदायको भ्रम चिर

विगतदेखि भारतले नेपालमाथि हस्तक्षेपकारी भूमिका खेल्दै आएको छ । नेपालको हरेक राजनीतिक परिवर्तनमा आफ्नो ‘भूमिका’ खोज्ने भारतले नयाँ संविधान जारी गर्नेबेला त्यस्तो भूमिका निर्वाह गर्न पाएन । भारतले नेपालमा आफूले भनेजस्तो संविधान जारी होस् भन्ने चाहेको थियो । तर, उसको पछिल्लो समयको विरोधाभाषपूर्ण व्यवहारकै कारण नेपालमा भारतविरोधी जनमत ह्वात्तै बढ्यो । यसले उसको भूमिका पनि कमजोर हुने निश्चितै थियो । यस्तो अवस्थामा भारतले नेपालको संस्थापन पक्षसँग मिलेर होइन, विगतझैँ धाकधम्कीको बलमा आफ्नो कलुसित मानसिकता पूरा गर्ने रणनीति अख्तियार ग¥यो । नेपाललाई गलाउनकै लागि उसले अघोषित रूपमा नाकाबन्दी ग¥यो । तर, नेपालका मूलधारका राजनीतिक दलको अडान र उनीहरूलाई मिलेको नेपाली जनताका साथसहयोगले भारत आफ्नो कदमबाट पछि हट्न बाध्य भयो ।

नेपालमा भारतको पक्षमा अझ भनौँ, उसले नेपालमा स्थापित गर्न खोजेको एजेन्डामा जनमत सिर्जना गर्न नसकेपछि भारतले फेरि अर्को गलत बाटो रोजेको छ । उसले विश्व समुदायलाई भ्रममा पारेर नेपालबारे आफ्नो एजेन्डा स्थापित गर्ने कोसिस गरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका बेला र भर्खरै अमेरिका भ्रमणका बेला नेपालबारे अनावश्यक रूपमा टिप्पणी गरिएको छ । भारतले बेलायतसँग र भर्खरै युरोपियन युनियन (इयू) सँग जारी गरेको संयुक्त विज्ञप्तिमा नेपालको संविधान अपूर्ण रहेको टिप्पणी गरेको छ । यी घटनाले के पुष्टि गर्दछ भने भारत नेपालमा जसरी पनि आफ्नो एजेन्डा स्थापित गर्न चाहन्छ । ठाँडै भन्ने हो भने भारत नेपालमा अस्थिरता चाहन्छ । ऊ नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन चाहन्छ र यही निहुँमा नेपाल अस्थिर बनिरहेको हेर्न चाहन्छ । त्यसरी नै मधेसी र पहाडीबीच भावनात्मक खाडल सिर्जना गरेर भारत नेपालीबीच द्वन्द्व मच्चाइरहन चाहन्छ ।

भारतले आफ्नो स्वार्थका लागि विश्व समुदायलाई प्रयोग गर्न खोज्यो र हाम्रो राजनीतिक नेतृत्वले त्यसको प्रतिवाद गर्ने हिम्मत गरे । यो आफैँमा सराहनीय विषय हो । भारतले लगाएको नाकाबन्दीको बेला देखिएको दलीय एकता यो विषयमा पनि देखिनु राम्रो कुरो हो । यति हुँदाहुँदै पनि पछिल्ला घटना क्रमहरूले हाम्रो कूटनीतिक संयन्त्रहरूको असक्षमता विश्वसमुदायसामु उदांगिएको छ । हाम्रो कूटनीतिक संयन्त्रहरूको असक्षमतालाई हटाउँदै यथासक्य चाँडो हामीले विश्व समुदायलाई नयाँ संविधानबारे बुझाउन सक्नुपर्दछ । कूटनीतिक रूपमा हामी केही कमजोर देखिए पनि त्यसलाई सच्याउने प्रशस्त उपायहरू छन् । त्यस दिशामा सरकार लागि पर्नुपर्छ । त्यससँगै संविधान कार्यान्वयनमा जान पनि ढिला गर्नै हुन्न । हामीले जतिजति संविधान कार्यान्वयन गरेर देखाउन सक्छौँ, विश्व समुदाय पनि भारतले सिर्जना गरेको भ्रमबाट बाहिर आउने छन् ।

प्रतिक्रिया