मानवअधिकार उल्लंघन बढ्यो

नैरोबी, १७ चैत । बुरुन्डीमा जारी रहेका हिंसात्मक गतिविधिका कारण पछिल्लो समयमा मानवअधिकार उल्लंघनका घटना बढेका छन् । विद्रोहीले बुरुण्डीमा हिंसा मच्चाएका छन् । उनीहरूले जारी राखेको हिंसाको नियन्त्रणका लागि सरकारी सेनाले पनि व्यापक मात्रामा कारबाही गर्ने गरेको छ । तर सो कारबाही हुने गरेपनि हतियारधारीले लुकिछिपी नागरिक र सुरक्षाकर्मीको हत्या गर्ने तथा सर्वसधारणमाथि हिंसात्मक आक्रमण पनि गर्ने गरेका छन् ।

उक्त हिंसाको अनुगमन पछिल्ला केही हप्तामा संयुक्त राष्ट्रसंघले सुरु गरेको समाचार छ । पछिल्लो सयममा यहाँ व्यापक मात्रामा हिंसा भएपछि पर्यवेक्षकका रुपमा संयुक्त राष्ट्रसंघले मानवअधिकारकर्मीको टोली पठाएको हो । २ हप्ताअघि पुगेको संयुक्त राष्ट्रसंंघीय मानवअधिकारकर्मीको टोलीले विद्रोहीका तर्फबाट तथा सरकारी सेनाले समेत गर्नसक्ने यस्ता हिंसाजन्य क्रियाकलापको अनुगमन गरी शान्ति स्थापनाका लागि आग्रह गर्ने गरेको बताइएको छ ।

पहिलो चरणमा गएको मार्च १ मा राष्ट्रसंघको ३ सदस्यीय टोली बुरुन्डीमा पुगी मानवअधिकार उल्लंघनका गतिविधि निरीक्षण गरिरहेकोमा गतहप्ता फेरि थप पठाइएको थियो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले विज्ञप्ति जारी गरी थप अधिकारकर्मी त्यहाँ पठाइएको र उनीहरूले मानवअधिकारका घटना हनन् भएकोमा त्यसको अनुगमन थालेको जनाएको छ ।

उक्त टोलीमा अल्जेरिया, कोलम्बिया दक्षिण अफ्रिकाका मानवअधिकारकर्मी र विज्ञको समूह रहेका छन् । उनीहरूले विगत १० महिना यता बढ्दै गएको मानवअधिकार उल्लंघनका घटनाको निरीक्षण गरी शान्ति स्थापना कार्यमा सघाउने छन् ।

यसअघि गतसाता मात्र अफ्रिकन युनियनले १ सय जना मानवअधिकारकर्मी पर्यवेक्षक र १ सय सैन्य गतिविधि पर्यवेक्षण गर्ने अधिकारीसमेत गरी २ सय जनालाई बुरुन्डी पठाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया