काभ्रे । सोमबार हावाहुरीसँगै आएको चट्यांङले जिल्लाको ज्याम्दी–३ भीमटारमा असिनापानीसँगै परेको चट्यांङले स्थानीय शम्भुप्रसाद पराजुलीको घर आगलागी भएको छ । आगलागीबाट घर पूरै जलेर नष्ट हुँदा घरभित्र रहेको अन्नपाट र पशु चौपायासहित करिब २० लाख बराबरको क्षति भएको छ । नष्ट भएका पशु चौपायाहरूमा २ वटा भैँसी १ वटा गाई, १ बोका रहेको छ । गत वैशाख १२ मा गएको भूकम्पमा समेत नभत्किएको घरमा स्थानीयहरूले समेत अन्नपात ल्याएर भण्डारण गरेका थिए ।
सिंगो गाउँलेहरूले भण्डारन गरेको अन्नपात नष्ट हुँदा स्थानीयहरूमा थप चिन्ता पलाएको छ । घरमा कोही नभएकोले मानवीय क्षति भने हुन नपाएको बताउँदै स्थानीयबासीले मंगलबार साँझसम्म पनि आगलागी नियन्त्रणमा सहयोग गरिरहेको बताएका छन् । यता टहरामैँ बास गर्दै आएका भूकम्पपीडितहरूमा हावाहुरी र असिनापानीले टहराहरू पनि भत्किएको छ ।
भूकम्पपीडितका टहराहरू हावाले उडाउँदा सुत्केरी, विद्यार्थी र वृद्धाहरू समस्यामा परेका छन् । पीडितहरूले भर्खरै रोपेका र फल लाग्न लागेका तरकारी बाली र अन्न बालीमा समेत असिनापानीले ठूलो असर गरेको छ । तिमालका रमेश पाण्डेले भने घर त छैन छैन खाने बाससम्म पनि छैन ७९ वर्षीय उनी भन्छन्, ‘श्रीस्वस्थानीमा चन्द्रवतीकै जस्तै हाम्रो हालत भएको छ खाने र बस्ने कहाँ कुनै टुंगो छैन । खान लागिएको गाँससमेत हावाहुरीले उडायो ।
त्यसमा त चन्द्रवतीको उद्धार पनि भएको थियो तर यहाँ हाम्रो उद्धार हुने कुनै टुंगो छैन । यस्तोभन्दा त्यही बेलै भूकम्पमा मरेकै वेश हुने थियो ।’ काभ्रेमा रहेका पीडितहरूले सरकारसँग एउटै बासको अपेक्षा गर्दैै आएका छन् । काभ्रेको विभिन्न गाविसहरूमा हावाहुरीले भूकम्प पीडितहरूको टहरा उडाउँदा बिचल्ली भएको खबर जिल्लामा प्राप्त भए पनि कुनै उद्धार र राहतका कामहरू हुन सकेका छैनन् । (सौस)
प्रतिक्रिया