पाकिस्तान विष्फोटको मुनद्वारा निन्दा, मृत्यु हुनेको संख्या ६९ पुग्यो

जेनेभा, १५ चैत । पूर्वी पाकिस्तानमा आइतबार भएको आत्मघाती आक्रमणको संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले कडा शब्दमा निन्दा गरेका छन् । उनले नागरिकको स्वतन्त्रपूर्वक बस्न र हिँड्डुल गर्न पाउने नैसर्गिक अधिकारको हिंसात्मक रूपमा हनन् गरिएको यस घटनाको निन्दा जतिधेरै शब्दमा गरे पनि पुग्दैन भन्दै महासचिव बानले दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

उनले यस्ता आतंकवादी क्रियाकलापले कसैको पनि भलो नगर्ने भन्दै जस्तोसुकै माग पनि शान्तिपूर्ण रूपमा पूरा हुनसक्नेतर्फ सबैको ध्यान जानुपर्नेमा पनि जोड दिएका छन् । आइतबार अबेर उनले विज्ञप्ति प्रकाशन गरी पाकिस्तानका हरेक नागरिकको सुरक्षा एवं त्यहाँका अल्पसंख्यक जाती एवं धार्मिक सम्प्रदायको रक्षाका लागि पाकिस्तानी सरकारसँग माग पनि गरेका छन् । उनले यस्ता हिंसात्मक घटनाबाट निर्दाेष एवं सर्वसाधारण नागरिकको जीवन रक्षाका लागि सबैका ध्यान पुग्नुपर्नेमा पनि जोड दिएका छन् । महासचिव बानले सो विज्ञप्तिमा यस आक्रमणमा मारिएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । साथै यस दुःखद घडीमा पाकिस्तानी जनता र सरकारलाई सान्त्वता दिँदै आफू सधैँ पाकिस्तानी जनताको साथमा रहेको पनि जनाएका छन् ।

संयुक्त राष्ट्रसंघीय साधारणसभाका अध्यक्ष मोजेन्स लिकेटफटले पनि आइतबार बेलुका भएको यस आक्रमणबाट ठूलो संख्यामा बालबालिकासहित महिला र पुरुष मारिएको यस घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । यसैबीच पाकिस्तानको पूर्वी भागमा रहेको लाहोर सहरमा रहेको एक सार्वजनिक पार्कमा भएको यस आत्मघाती आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा पनि ६९ पुगेको छ । त्यस घटनामा परी ज्यान जानेको संख्या गएराती र सोमबार बिहानसम्म पनि बढिरहेको बताइएको छ । आइतबार साँझपख सो दुर्घटना भएको हो ।

आइतबारको दिन बिदामा रहेका बालबालिकालाई लिएर त्यहाँ पुगेका नागरिक बमको सिकार भएका थिए । घटनास्थलको अवस्था अत्यन्तै दर्दनाक देखिन्थ्यो भने बालबालिका पनि यसको सिकार भएका थिए । यस आक्रमणमा कम्तीमा ३ सय व्यक्ति घाइते भएका छन् । सो आक्रमणमा मारिएकामा ठूलो संख्या महिला र बालबालिका रहेका छन् । घाइते सबैको उपचार जारी रहेको स्वास्थ्य अधिकारीले जनाएका छन् । उनीहरूले कयौँको अवस्था निकै नै गम्भीर रहेको जानकारी दिएका छन् । गम्भीर अवस्थामा उपचाररत घाइतेको अवस्था हेर्दा मृत्यु हुनेको संख्या अझै धेरै पुग्नसक्ने उपचाररत अस्पतालका अधिकारीहरूले जनाएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले यस घटनाका दोषीलाई कुनै पनि हालतमा नछोडिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले देशबाट आतंकवादको जरो उखेलेरै फाल्ने भन्दै सर्वसाधारण नागरिक र निर्दाेष बालबालिकको हत्या गरेर कसैको पनि कुनै उद्देश्य प्राप्त नहुने पनि उनले बताए । यस आक्रमणको जिम्मा पाकिस्तानी तालिवानसँग सम्बन्धित एक आतंककारी समूहले लिएको छ । सो आक्रमण आपूmहरूले गराएको सो समूहले आइतबारै अबेर राती जानकारी दिएको हो । गुलसान ई इक्बाल पार्कमा भएको यस आक्रमणमा कयौँ परिवारका निर्दोष बालबालिका र महिलाको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया