३० हेक्टर क्षेत्रफलमा चैते धान लगाइँदै : सिक्टहनबाट रोपाइँ सुरु

बुटवल, चैत १५ । रुपन्देहीमा पहिलोपटक चैते धानको खेती यसवर्षदेखि सुरु गरिएको छ । धानखेतीमा पकट क्षेत्र मानिने रुपन्देही जिल्लामा यसअघि असार महिनामा मात्र धान रोपाइँ गरिने गरिन्थ्यो तर यसवर्षदेखि जिल्लाका विभिन्न स्थानमा चैते धान लगाउन सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । यसवर्ष ४५ विघा खेत अर्थात् ३० हेक्टर क्षेत्रफलमा धान लगाउन सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाले जानकारी दिए ।

‘जिल्लामा पहिलोपटक यो चैते धान रोपाइँ सुरु गरिएको हो,’ सिक्टहन–७ छोट्की गुम्मीमा सामूहिक बहुउद्देशीय कृषि उपज तथा वितरण समूहद्वारा आयोजित चैतेधान रोपाइँ कार्यक्रमा उनले भने ।

कृषि विकास कार्यालयले गतमहिना मात्र चैते धान लगाउने कृषकका लागि अनुदानमा करिब १५ क्विन्टल बिउ वितरण गरेको थियो । हर्दिनाथ–१ र चैते–२ नामक उन्नत जातको बिउ वितरण गरेको हो । सोमबार सिक्टहनमा आयोजित धान रोपाइँ कार्यक्रममा उनले पानी सञ्चित हुने जमिन खाली नराख्न सबैलाई आग्रह गरे । उनी भन्छन्, ‘सरकारले यसवर्षदेखि धानको उत्पादनमा वृद्धि गराउन तराईका १३ जिल्लामा बृहत्तर धान उत्पादनको कार्यक्रम लागू गरेको छ, त्यही कार्यक्रमअन्तर्गत रुपन्देहीमा पनि सुरु गरिएको हो ।’

रुपन्देहीसँगै झापा, मोरङ, सुनसरी, सर्लाही, पर्सा, दाङ, कपिलबस्तु, बारा, बर्दिया, कैलाली, बाँके, कञ्चनपुर जिल्लामा पनि चैते धान लगाइँदै छ । जिल्ला कृषि विकास कार्यालयले आगामी वर्ष करिब १ सय हेक्टरमा धान खेती लगाउने योजना बनाएको छ । तर, त्यसका लागि किसानहरूलाई एक हेक्टर क्षेत्रफलको लागि ५ हजार रुपैयाँसम्म अनुदान दिने, धान रोप्ने र गाड्ने मेसिन भित्राउने कार्यालयको योजना छ । सापकोटाका अनुसार सरकारले आगामी ३ वर्षसम्म ३ लाख हेक्टरमा चैते धान खेती गरी बढ्दो धान आयातलाई कम गराउने योजनामा लागेको छ ।

रुपन्देहीमा चैते धान १७ गतेसम्म सकिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ७० प्रतिशत खेतमा धान रोपाइँ भएको बताए । रुपन्देहीमा यसवर्ष करिब ५ टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

सिचाइँ सुविधा नहुँदा धेरै क्षेत्रमा चैते धान लगाउन नसकिएको सापकोटाले बताए । बढ्दो खाद्य संकट कम गरी उत्पादनलाई वृद्धि गर्न धान उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ । अहिलेसम्म १२ जिल्लाको करिब १ लाख १२ हजार हेक्टरमा चैतेधान खेती गरिँदै आएको छ ।

प्रतिक्रिया