पुनर्निर्माणमा कर्मचारी जान मानेनन्

काठमाडौं, १५ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कर्मचारी जान नमानेपछि भूकम्पपीडितले पुनर्निर्माणका लागि सहयोग पाउन ढिला हुने भएको छ । प्राधिकरणमा स्वीकृत कर्मचारीको दरबन्दी २ सय ८ भए पनि एक चौथाइ मात्र कार्यरत रहेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । उनले भने, ‘पीडितलाई स्थायी आवास निर्माणका लागि सहयोग गर्न सहज बनाउने उद्देश्यले ७ स्थानमा उपक्षेत्रीय कार्यालय स्थापना गर्ने निर्णय गरिएको छ । दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, गोरखा र ललितपुरमा १÷१ र काठमाडौंमा २ वटा उपक्षेत्रीय कार्यालय स्थापना गर्ने निर्णय भएको छ ।’

दोलखा उपक्षेत्रीय कार्यालयले रामेछाप र ओखलढुंगा, काभ्रेपलाञ्चोक उपक्षेत्रीय कार्यालयले सिन्धुपाल्चोक र सिन्धुली, नुवाकोट उपक्षेत्रीय कार्यालयले रसुवा, गोरखा उपक्षेत्रीय कार्यालयले धादिङ, ललितपुर उपक्षेत्रीय कार्यालयले मकवानपुर एवं काठमाडौंमै स्थापना हुने २ वटा उपक्षेत्रीय कार्यालयले भूकम्पबाट प्रभावित ३१ जिल्ला हेर्ने गरी कार्यक्षेत्र तोकिएको छ ।

उपक्षेत्रीय कार्यालयको नेतृत्व सहसचिवले गर्ने निर्णय गरिए पनि कर्मचारी प्राधिकरणमा जान नमानेकाले दोलखामा उपसचिवलाई कार्यालय प्रमुख बनाएर पठाइएको प्रवक्ता थपलियाले बताए । काभ्रे, नुवाकोट र गोरखामा भने शाखा अधिकृतलाई नै प्रमुख बनाएर पठाउन बाध्य हुनुपरेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणमा खटिने कर्मचारीलाई सेवा सुविधा कम हुने भएकाले सरुवा हुन नमानेका हुन् । एक उपक्षेत्रीय कार्यालयमा ८ जना कर्मचारी राखिने व्यवस्था गरिए पनि न्यून संख्याका कारण पूर्वाधार तयार गर्न भनी १÷२ कर्मचारी सुरुआती चरणमै खटाइएका छन् ।

गत वैशाख १२, १३ र २९ गतेको भूकम्प एवं पटकपटकको परकम्पले देशभर ८ लाख घर भत्किएका थिए भने करिब ९ हजार व्यक्तिको ज्यान गएको थियो ।

प्रतिक्रिया