सरकारलाई सहयोग गर्ने सेना प्रमुखको प्रतिवद्धता

नेपित्व, १४ चैत । म्यानमारका सैनिक प्रमुख जर्नेल मिनआङ हलिङले म्यानमारको नयाँ सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सेना प्रमुखले म्यानमारमा यतिखेर सेनाबाट नागरिक सरकारमा शक्ति हस्तान्तरणका लागि सकारात्मक प्रयासहरु भएका भन्दै नयाँ सरकारलाई सेनाले सहयोग गर्ने बताए ।

म्यानमारको ७१औँ सशस्त्र दिवसका अवसरमा राजधानी नेपित्वमा आइतबार आयोजित एक सैनिक परेड समारोहलाई सम्बोधन गर्दै उनले सो धारणा राखको समाचारमा जनाइएको छ । म्यानमारमा प्रजातन्त्रको कार्यान्वयनका लागि मुख्य दुईवटा व्यवधान रहेका उल्लेख गर्दै उनले भने, ‘नागरिक अनुशासनमा कमी हुनु र नियम कानुनको कार्यान्वयनको कमी तथा सशस्त्र समूहको उपस्थिति नै यसका प्रमुख व्यवधान हुन् ।’ उनले सैनिकले जनताको सुरक्षा, देशको रक्षा र सरकारलाई सहयोग गर्ने भन्दै विकासका कामहरुको कार्यान्वयनका लागि पनि सैनिकको मुख्य दायित्व हुने बताए ।

म्यानमार दशकौँपछि पहिलोपटक नागरिक सरकार निर्माण भएको छ । गएको वर्ष ८ नोभेम्बरमा भएको आमनिर्वाचनबाट त्यहाँको मुख्य प्रजातान्त्रिक दल नेसनल लिग फर डेमोक्र्यासीले बहुमत हासिल गरेको थियो । सोही दलले नै म्यानमारमा नयाँ राष्टपति र नयाँ सरकार निर्माण गर्ने अवसर पाएको हो ।

म्यानमारको राष्ट्रपतिमा गतहप्ता मात्र उ टिन च्यो निर्वाचित भएका छन् । उनी उक्त दलको नेता हुनुहुन्छ । नेसनल लिग फर डेमोक्र्यासीकी नेतृ आङ सान सुकीको दल हो । राष्ट्रपति च्योको नेतृत्वमा सरकार निर्माण हुने भएको हो । आगामी बुधबार राष्ट्रपति र नयाँ मन्त्रीको सपथ हुने भएको छ ।

म्यानमारको संसद्मा सेनाको पनि उपस्थिति हुने गर्दछ । म्यानमारको संसद्मा कम्तीमा पनि १ चौथाई सांसद सेनाको तर्फबाट प्रतिनिधित्व गर्ने गर्छन् । सैन्य प्रमुखले म्यानमारमा शान्ति तथा प्रजातन्त्रको स्थापनामा सैनिकको पनि महत्वपूर्ण योगदान रहेकोे धारणा राखे । उनले भने, ‘म्यानमारमा गएको अक्टोबर महिनादेखि सुरु भएको युद्धविरामको पालनाका साथै गएको नोभेम्बरमा आमनिर्वाचनका समयमा पनि सेनाले ठूलो योगदान पु¥याएको छ ।’

प्रतिक्रिया