कोसीको पानी पम्पिङ प्रविधिबाट तान्ने काम सुरु

khotang_pumping for waterखोटाङ, १४ चैत । खोटाङको दक्षिणी गाविस लिच्कीराम्चेस्थित कालापानीमा कोसीको पानी पम्पिङ प्रविधिबाट गाउँसम्म तान्ने काम सुरु गरिएको छ । रसुवाघाट–कालापानी खानेपानी योजनाअन्तर्गत सुनकोसी नदीबाट पम्पिङ प्रविधि प्रयोग गरेर गाउँसम्म पानी तान्ने काम सुरु गरिएको हो ।

करिब १ करोडको लगानीमा पूरा हुने अनुमान गरिएको योजनाका लागि राष्ट्रिय योजना आयोग र युनिसेफलगायतका दातृ निकायले सहयोग गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताए । ‘वरपर भएका पानीको मुहान सुकिसकेपछि वस्ती नै सानुपर्ने अवस्था आयो ।’ उनले भने, ‘गाउँमा पानी ल्याउने अन्य वैकल्पिक श्रोत नभएपछि कोसीको पानी तान्ने काम सुरु गरिएको हो ।’

जिल्लाको सुख्खाग्रस्त क्षेत्र मानिएको कालापानीमा कांग्रेस नेता भूपेन्द्र राईको पहलमा रसुवाघाटबाट पानी तान्ने काम थालिएको जनाइएको छ । करिब १ सय ५० घरधुरी रहेको कालापानीमा खानेपानीको समस्या चर्किंदै गएपछि सुनकोसीको पानी पम्पिङ प्रविधिमार्फत माथि तान्ने ०७० सालमा ‘डिटेल सर्भे’ गरिएको थियो ।

छिमेकी गाविस इन्द्रेणीपोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि कालापानीका स्थानीयवासी अहिले कुवा र आहालको पानी पिउन बाध्य छन् । घना वस्ती रहेको कालापानीमा नदीको पानी विकल्प छैन ।

कालापानीमा नदीको पानी तान्ने योजना सफल भएमा जिल्लाका अन्य सुख्खाग्रस्त क्षेत्रको खानेपानी समस्या हल गर्न सघाउ पुग्ने खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालय खोटाङका प्रमुख विजयकुमार ठाकुरले बताए । ‘जिल्लाका दर्जनौं गाविसमा खानेपानीको यस्तै समस्या छ ।’ उनले भने, ‘कालापानीमा सुरु गरिएको योजना सफल भएमा अन्य ठाउँको समस्या पनि हल गर्न सकिन्छ ।’

खानेपानी योजना सञ्चालनको काम सुरु भएपछि काकाकुल अवस्थामा रहेका स्थानीय नदीको पानी आउने आशामा उत्साहित बनेका छन् । घन्टौँ हिँडेर आहाल र कुवाको पानी प्रयोग गर्दै आएका स्थानीयका लागि पम्पिङ प्रविधिको योजना सफल भएमा ठूलो राहत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया