बुटवल, ११ चैत । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले रुपन्देहीको मोतिपुरमा प्रस्तावित औद्योगिक क्षेत्र विस्तार हुने निश्चित भएको बताएका छन् । उनले मन्त्रीपरिषद्को निर्णय भइसकेकाले अब काम छिट्टै सुरु हुनेसमेत बताए ।
बिहीबार मोतिपुर औद्योगिक क्षेत्रको अवलोकन तथा स्थानीयबासीलाई जानकारी दिँदै मोतिपुरसँगै देशका ७ वटै प्रदेशमा औद्योगिक क्षेत्र बन्ने निश्चित भएको बताए । उनले भने, ‘औद्योगिक क्षेत्रको विस्तारसँगै अब मुलुक आर्थिक समृद्धितर्फ जानुपर्छ, त्यसैको नमुना हो मोतिपुर औद्योगिक क्षेत्र ।’ उनले १ चैतमा बसेको मन्त्रिपरिषद्बाट उक्त कुराको निर्णय भइसकेको जानकारी दिँदै अब निर्माणको काम सुरु हुने विश्वास दिलाएका छन् ।
उनले देशमा बन्न लागेका ७ प्रदेश मध्येको एउटा औद्योगिक क्षेत्र मोतिपुर रहेको बताए । उनले अबको विकास भनेको आर्थिक विकास नै रहेको भन्दै त्यसैलाई आत्मसाथ गर्दै न्यूनतम १ प्रदेश १ औद्योगिक क्षेत्र विस्तारको योजना अनुसार काम भइरहेको बताए । करिव ९ सय बिघा क्षेत्रफलमा मोतिपुर औद्योगिक क्षेत्र विस्तार हुनेछ । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, नेकपा एमालेका केन्द्रीय सदस्य लीला गिरी, बुटवल उद्योग वाणिज्य संघ, व्यापार संघ, रुपन्देही उद्योगलगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया