काठमाडौं, ९ चैत । भक्तपुरको काँडाघारीस्थित एउटै टोलमा पाल्पाली मौलिक फागु खेलेर पाल्पाली कलाकारको संस्था सहयात्रा नेपालले १ लाख रुपैयाँ जम्मा गरेको छ । कला संस्कृतिको संरक्षणका लागि भन्दै सहयात्रा नेपालले पहिलो पटक काठमाडौंमा मौलिक फागु खेलेको हो ।
वरिष्ठ लोकगायक तथा संगीत अनुसन्धानकर्ता नारायण रायमाझीको नेतृत्वमा पाल्पाली मौलिक फागुगीत गाइएको थियो । उनलाई राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष दुर्गा रायमाझी, वर्तमान अध्यक्ष चन्द्र शर्मा, सचिव शिरीष देवकोटा, केन्द्रीयसदस्य नवीन पौडेल, अन्य लोकगायक इन्द्र जिसी, सेमन्तमणि खराल, अमृत अधिकारी, शिव हमाललगायतले साथ दिएका थिए । पाल्पाली मौलिक फागुमा पूर्वमन्त्री माधवप्रसाद घिमिरेसहितका विशिष्ट व्यक्तित्व पनि नाच्दै गाउँदै सहभागी भएपछि कार्यक्रमको रौनकता थपिएको थियो । उनले पाल्पाको फागु दुर्लभ खालको भएकाले संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।
स्थानीयवासी केशव आचार्यको घरमा सामूहिक रूपमा खेलिएको फागुमा सबै टोलवासीबाट संकलित करिब १ लाख दक्षिणा आचार्यले सहयात्राका अध्यक्ष दुर्गा रायमाझीलाई हस्तान्तरण गरेका थिए । अध्यक्ष रायमाझीले संकलित दक्षिणा पाल्पाको कला संस्कृतिको संरक्षणका लागि उपयोग गरिने जानकारी दिए ।
प्रतिक्रिया