ब्रसेल्समा बम विष्फोट

brussels_attackब्रसेल्स, ९ चैत । बेल्जियम र युरोपियन युनियन(इयू)को राजधानी ब्रसेल्सदेखि करिब ११ किमी टाढा रहेको जाभेन्तम अन्तर्राष्ट्रिय विमानस्थलमा शक्तिशाली बम विष्फोट भएको छ । उक्त बम विष्फोटको धमाकाले त्यस आसपासको जनमानसमा ठूलो त्रास उत्पन्न भएको थियो । २ ठाउँमा भएको विष्फोटमा मंगलबार बेलुकिसम्म २६ जनाको ज्यान गएको छ । मंगलबार स्थानीय समयअनुसार बिहान करिब ८ बजेको व्यस्त समयमा विमानस्थल डिपार्चर एरियामा भएको बम विष्फोटबाट ११ जना सर्वसाधारणको ज्यान गएको छ । यसलगत्तै इयूको मुख्यालय नजिकै मोलेनवेक ट्राम स्टेसनमा भएको विष्फोटमा परी १५ जनाको मृत्यु भएको र सयौँ घाइते भएको जानकारी स्थानीय अधिकारीले दिएका छन् ।

बेल्जियमको राजधानी ब्रसेल्समा भएको उक्त श्रृंखलाबद्ध बम विष्फोटको जिम्मा इस्लामिक अतिवादी संगठन आइएसले लिएको छ । बम विष्फोट गराउने संदिग्ध दुई व्यक्तिको तस्बिर सार्वजनिक पनि गरिएको छ । बम विष्फोटबाट हालसम्म २६ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । ३५ जना घाइते भएका छन् । बम विष्फोटमा संलग्न भएको भन्दै नाजिम लाचराउ र मोहम्मद अबरिनीको तस्बिर सार्वजनिक गरिएको छ । उनीहरू पेरिस आक्रमणमा पनि संलग्न रहेको बताइएको छ ।

विष्फोटपछि केही बेरसम्म सर्वसाधारण भुइँमा लडिरहेको अवस्थामा परेका थिए । निकै व्यस्त विमानस्थल र व्यस्त ट्राम स्टेसनमा भएको यो विष्फोटले युरोपको मुटुमा प्रहार गरेको संज्ञा दिइएको छ । ब्रसेल्स युरोपको राजधानीको रूपमा रहेको छ । यहाँ युरोपेली मुलुकहरूको मुख्य बैठकहरूसमेत हुने गर्छ । पेरिस हमलाका मुख्य योजनाकार सलाह अब्देशलम ब्रसेल्समा पक्राउ परेको चौथो दिनमा नै यस्तो घटना भएको हो ।

उडान बुधबार बिहान ६ बजे सम्मलाई बन्द गरिएको छ । पछिल्लो समय होल्ड भएका उडानहरू भने सुचारु भएका छन् । राजधानी ब्रसेल्समा आसपासका क्षेत्रका सार्वजनिक यातायातका साधनहरू पूर्णरूपमा बन्द भएका छन् । देशभरी उच्च सुरक्षा सतर्कता अपनाइएको छ । ब्रसेल्स क्षेत्रभित्र करिब ५ सय नेपाली बसोबास रहेको नेपाली दूतावासले जानकारी दिएको छ । दूतावास अधिकारीहरूका अनुसार कोही पनि त्यसमा नपरेको बताइएको छ । तैपनि सबै नेपालीहरूसँग सम्पर्क गर्ने र गैरआवासीय नेपालीमार्फत बुझ्ने काम भइरहेको छ । विभिन्न स्थानमा खानतलासीहरू सुरु भएको छ । पेरिस आक्रमणपछि नै युरोपेली मुलुकहरूले सुरक्षा सतर्कता बढाउँदै गाएका थिए । बृहत् सुरक्षा सतर्कतालाई पनि तोडेर संवेदनशील क्षेत्रमा नै सर्वसाधारणमाथि भएको यो प्रहारलाई अमानवीयताको पराकाष्ठको रूपमा प्रधानमन्त्री चाल्र्स माइकलले बताएका छन् ।

घटनास्थल वरिपरि नेपालीहरू बसोवास गरेता पनि घटनामा हताहत भएको हालसम्म कुनै जानकारी प्राप्त नभएको नेपाली दूतावास बेल्जियमका उपप्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन् । उनले भने, ‘बुझ्ने काम भइरहेको छ । यसले हामीलाई स्तब्ध बनाएको छ ।’ गैरआवासीय नेपाली एनआरएनले घटनाबाट स्तब्ध भएको उल्लेख गर्दै नेपालीलाई सहयोगको लागि सम्पर्कमा रहन भनेको छ । एनआरएन अध्यक्ष गंगाधर गौतमले आफूलाई पनि नेपाली हताहत भएको अहिलेसम्म जानकारी नआएको बताउँदै सहयोग गर्नु परे तुरुन्त तयार रहेको जानकारी गराए ।

ब्रसेल्समा रहेका नेपाली तथा अन्य सर्वसाधारणहरू बाहिर निस्कनसमेत डराएका छन् । तर, बम विष्फोट भएको क्षेत्रभन्दा अन्यमा जनजीवन सामान्य देखिएको काममा फर्केका नेपालीहरूले बताएका छन् । सार्वजनिक यातायता नचले पनि ट्याक्सीहरू भने चलिरहेका छन् । सुरक्षाकर्मीहरू यत्रतत्र घुमेका छन् । पहिलो चरणमा एअरपोर्ट र सबस्टेसन पूरै आफ्नो नियन्त्रणमा लिएर छानबिन गरेको थियो ।

यति हुँदाहुँदै पनि विष्फोट कसले गराएको भन्ने विषय खुल्न सकेको छैन् । यो घटनाका अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएकोले कसले ग¥यो भन्ने एकिन हुन नसके पनि यो बर्वर र आततायी रहेको छ । विश्वभरबाट उक्त घटनाको भर्सना गर्दै यस्ता घटनामा लाग्ने आतंककारीविरुद्ध सबै एक भएर लड्नुपर्ने आह्वान भइरहेको छ ।

प्रतिक्रिया