प्रधानमन्त्रीको चीन भ्रमण : सांघाई सहयोग संगठनमा नेपाल

<> on March 21, 2016 in Beijing, China.

काठमाडौं, ९ चैत । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालले सांघाई सहयोग संगठन संवाद समितिको सदस्यता लिएको छ । क्षेत्रीय विकासको अवधारणामा स्थापित सो संगठनको कार्यालयमा नेपालले उक्त संगठनको साझेदार बन्ने समझदारीपत्रमा हस्ताक्षर गरेको हो । नेपालका तर्फबाट परराष्ट्रसचिव शंकरदास वैरागी र उक्त संस्थाका महासचिवबीच उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

क्षेत्रीय विकासका लागि सुरुआत भएको सो संस्थाको हालसम्म नेपाल सदस्य बन्न नसकेको अवस्थामा प्रधानमन्त्रीको भ्रमणमा सदस्यता प्राप्त भएको हो । उक्त संगठनले आर्थिक, सामाजिक विकासका लागि रणनीतिक कार्ययोजनाहरू तर्जुुमा गर्नेछ ।

यसअघि चीनको बेइजिङस्थित रेनमिन विश्वविद्यालयद्वारा आयोजित ‘एक क्षेत्र एक मार्ग पहलका सन्दर्भमा नेपाल–चीन सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको बताएका छन् । उनले नेपालको कुनै पनि भूभाग चीनविरुद्ध कुनै हालतमा प्रयोग हुन नदिने बताउँदै नेपाल पञ्चशीलका आधारमा नेपाल चीनबीचको सम्बन्ध सुदृढ रहेको भनाइ राखेका थिए । नेपालप्रतिको चीनको सम्मानपूर्ण व्यवहार र विकासका लागि गरेको सहयोग अविस्मरणीय रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल–चीनबीचको सम्बन्ध सदियौँ पुरानो, प्रगाढ, मैत्रीपूर्ण रहेको र यसलाई अझ प्रगाढ बनाउन चीनको ‘एक क्षेत्र एक मार्ग’ नीति नेपालको विकासका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँग दीर्घकालीन रणनीतिक सम्बन्ध विकास गर्न चाहेको धारणा राखेका छन् । सोमबार मात्र बेइजिङमा २ देशबीच १० बुँदे सम्झौता भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्तामा राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई अब चीनले रणनीतिक महत्व दिइएको अवधारणा राखे । यसअघिका उच्च भेटवार्ताहरूमा चिनियाँ नेताहरूले नेपाल चीनको सम्बन्ध बृहत् रहेको बताउँदै आएको भए पनि यसपटकबाट भने चीनले अब भने रणनीतिक महत्व दिएको जनाएको हो ।

चिनियाँ विदेश नीतिको आधारमा अन्य देशसँगको सम्बन्धमा पनि कम्प्रिहेन्सिभ (बृहत्) बाटमाथि उठेपछि स्ट्राटेजिक (रणनीतिक) शब्द प्रयोग गर्ने गरेको बताउँदै भेटवार्तामा सहभागी बेइजिङस्थित राजदूत महेश मास्केले राष्ट्रपति सी जिनपिङको भनाई उद्धृत गरे, ‘चीन नेपालसँग दीर्घकालीन रणनीतिक सम्बन्ध विकास गर्न चाहन्छ ।’

एक चीन नीतिप्रति प्रतिवद्धता
प्रधानमन्त्री ओलीले नेपाल अहिले मात्र होइन पहिलेदेखि नै छिमेकी मुलुक चीनप्रति एक खम्बे नीतिमा रहेको बताएका छन् । उनले सो अनुसारको नेपालले भूमिका पनि देखाउँदै आएको धाराणा राखेका छन् ।

चीनको बेइजिङस्थित रेनमिन विश्वविद्यालयद्वारा आयोजित ‘वान बेल्ट–वान रोड इनिसिएटिभ्स’ को सन्दर्भमा २ मुलुकबीचको सम्बन्ध विषयको एक विद्वत गोष्ठीलाई सम्बोधनमा उनले २ मुलुकबीचको सम्बन्ध ‘पञ्चशील’ सिद्धान्तमा आधारित रहेको भन्दै सार्वभौम समानता, अहस्तक्षेप र एकअर्काको संवेदनशीलताप्रतिको आदरबाट २ मुलुकको स्थिर मित्रता निर्देशित भएको रहेको बताए । उनले भने, ‘नेपालको सार्वभौमिकतालाई जनगणतन्त्र चीनले सम्मान दर्शाउँदै आएको छ र नेपालको विकास प्रयासलाई सघाउँदै आएको छ ।’

सुख र दुःखमा सदावहार मित्र
नेपालको भौतिक पूर्वाधार निर्माणका परियोजनाहरूका लागि चीनबाट प्रदत्त उदार सहायताले नेपालको विकास प्रयासलाई सघाएको विचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनीहरूको लगानी, व्यापारिक सम्बन्ध र प्राविधिक सहयोगमा उनीहरूको गतिशील संलग्नताले नेपालको विकासलाई गति प्रदान गरेको भए पनि आर्थिक सहयोगलाई थप उचाइमा लानुपर्नेमा जोड दिएका छन् । चीन नेपाली विद्यार्थीका लागि एउटा सुगम र महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको बताउँदै उनले भने, ‘चीनमा अध्ययनरत नेपाली विद्यार्थीको बढ्दो संख्याले ज्ञानको आदानप्रदान, सीप विकास र साझा भविष्यको सम्भाव्यतालाई चहकिलो बनाएको छ ।’ औद्योगिक आधारलाई फराकिलो पार्न र कृषिलाई आधुनिकीकरण गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले उद्योगलाई इन्धनका रूपमा आवश्यक पर्ने ऊर्जा उत्पादन गर्न र जलस्रोतको अधिकतम उपयोग गर्न आफूहरू कटिबद्ध रहेको कार्यक्रममा जानकारी दिएका छन् ।

लगानीका लागि नेपाली बजार खुला रहेको बताउँदै भू–बनोटका कारण सिर्जित अवरोधलाई वन बेल्ट वन रोड अभियानले सहज पार्ने उनको धारणा रहेको थियो । सन् २०१५ मा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको हीरक जयन्ती मनाइएको स्मरण गर्दै उनले विगतका ती मित्रतापूर्ण वर्ष र दशकहरूमा सँगै मिलेर अवसरहरू पहिल्याएको, साझा आकांक्षालाई मूर्त रूप दिन नेपाल सरकार प्रतिबद्ध रहेको बताए । उनले खाँचो परेका बेला सहयोग आदानप्रदान गर्ने गरेको भन्दै असल छिमेकी हुनुको नाताले सक्दो सहयोग रहनेमा आपूm विस्वस्त रहेको समेत जनाए ।

प्रधानमन्त्री ओलीले ‘वन बेल्ट वन रोड’ अभियान समृद्धिको सहयोगात्मक आयामहरू भेटाउने, साझा सरोकारलाई मुखरित गर्ने र सहयोगलाई गहिरो बनाउने सम्पर्क स्थापित गर्ने हाम्रा सम्भाव्यताहरूको ढोका खोल्ने मुख्य कदम रहेको समेत बताएका छन् । उनले भने, ‘यो अभियानबाट अघि बढ्दा चिनियाँ राष्ट्रपति सि जिन पिङले भन्नुभएको ‘साझा गन्तव्यका समुदाय’ लाई अन्ततः भेट्टाउन हामीले अनगिन्ती छालहरूलाई पार गर्नुपर्ने हुन्छ ।’

उनले नेपाल र चीनबीच सोमबार भएको १० बुँदे रणनीतिक सम्झौताले ऐतिहासिक महत्व दर्शाउने भन्दै सम्झौता नेपाल–चीन सम्बन्धले नयाँ उचाई लिएको प्रमाणको रूपमा लिन सकिने बताएका छन् । सोमबार प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच वार्तापछि ऐतिहासिक पारवहनसहित १० बुँदे सम्झौता भएको थियो । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीसँगको भेटमा ती सम्झौताप्रति प्रतिवद्धता जनाउँदै अनुमोदन गरेका थिए ।

नेपालल ‘सेतु’ बन्न सक्छ
चीनको विदेश मामिला प्रमुख स्टेट काउन्सिलर याङ जेइची, विदेशमन्त्री वाङ यी, वाणिज्यमन्त्री गाओ हुचेङ, नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईसहित नेपाली प्रतिनिधिमण्डलसँग ग्रेटहलमा भेटवार्ता गरेका राष्ट्रपति सीले चीन र भारतलाई नजिक ल्याउन नेपालले सेतुको भूमिका खेल्नुपर्ने बताए । प्रधानमन्त्री ओलीलाई उनले चीन र भारतको विकासबाट फाइदा उठाउन सुझाव दिए । ‘चीन र भारतको विकासबाट नेपालले फाइदा उठाउने आशा छ, दुवै छिमेकीले नेपालमा स्थिरता र विकास होस् भन्ने समान चासो राखेका छन्’, ओलीसँगको भेटमा राष्ट्रपति सी जिनिपिङलाई उद्धृत गर्दै चीनको विदेश मन्त्रालयले भनेको छ,’ चीन र भारतबीच नेपाल पुल बन्न सक्छ, हामी चीन–नेपाल–भारत त्रिपक्षीय साझेदारी विकास गर्न चाहन्छौँ ।’

प्रतिक्रिया