ल्हारक्याल फेरि पक्राउ

laharcal-lamaकाठमाडौ, ८ चैतं । बैंकको लकरमा गोली भेटिएपछि पक्राउ परेका एमाओवादीका सांसद् ल्हारक्याल लामा प्रशासनको आदेशमा धरौटी तिरेर छुटेलगत्तै फेरि पक्राउ परेका छन् । उनलाई प्रहरीले सोमबारै म्याद थपेर अनुसन्धानका लागि २ दिन हिरासतमा राख्ने अनुमति लिएको छ ।

अख्तियारबाट अवैध सम्पत्ति कमाएको अभियोगमा छानबिन गर्ने क्रममा नेपाल इन्भेस्टमेन्ट बैंकको दरबारमार्गस्थित शाखामा रहेको लकरबाट १४ थान गोली बरामद भएपछि उनी पक्राउ परेका थिए ।

अवैध गोली राखेको घटनामा हतियार खरखजना मुद्दा चलाइएका उनलाई प्रशासनले सोमबार ६६ हजार ७ सय ५० रुपैयाँ धरौटी लिएर छाडेलगत्तै प्रहरीले फेरि पक्राउ गरेको हो ।

अवैध गोली राखेको मुद्दामा छुटेका उनलाई वैदेशिक रोजगारीमा ठगीसम्बन्धी अर्को मुद्दामा प्रशासनले अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुलाई जिम्मा लगाएको हो । अख्तियारको टोलीले गत फागुन ३० गते लामालाई बैंकको लकर खोलेर हेर्नका लागि बैंकमा बोलाएको थियो । सुनचाँदी राखिने लकरमा गोली भेटिएपछि सांसद लामा प्रहरी हिरासतमा पुगेका थिए ।

दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको लकर अख्तियारको टोलीले लामाकै उपस्थितिमा चेकजाँच गर्दा १४ थान गोली भेटिएको थियो । गोली बरामद भएपछि उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हातहतियार खरखजना मुद्दा चलाइएको थियो ।

एमालेबाट प्रधानमन्त्री बनेका झलनाथ खनालले लामालाई अर्थराज्यमन्त्री बनाएपछि त्यसको तीव्र विवाद भएको थियो । लामाले सिन्धुपाल्चोकबाट फरकफरक मितिमा २ वटा नागरिकता लिएको प्रमाण भेटिएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया