सम्मानको रकम असहायलाई

side main copyकाठमाडौं, ६ चैत । अस्ट्रेलियामा केही समयअघि  सुकोकाई ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत जितेका कुशल श्रेष्ठले सम्मानवापत  पाएको रकमको केही हिस्सा असहाय बालबालिकाका लागि खर्चेका छन् । उनलाई नगदसहित शनिबारै न्यू शिवशक्ति बिजनेस प्राइभेट लिमिटेडका निर्देशक भरत शंकर र जयलक्ष्मी गहनागृह चावहिलका प्रोपाइटर लभ बराइलीले सम्मान गरेका थिए । सम्मानवापत प्राप्त रकमबाट कुशलले ११ हजार रुपैयाँ ललितपुरको भैँसेपाटीमा रहेको नवीकरण प्रतिष्ठान नेपालका बालबालिकाहरुका लागि खर्चिए । कुशलले ११ हजारबाट  चामल, तेल, चिउरा, दालमोठ, बिस्कुट, अण्डालगायतका विभिन्न खाद्यान्न किनेर यस प्रतिष्ठानका अध्यक्ष विशाल टमाटामार्र्फत् बालबालिकालाई हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रम बोल्दै दक्षिण एशियाली खेलकुदमा स्वर्ण विजेता कुशलले असहाय बालबालिकालाई सबैखाले सहयोग गर्न तयार रहेको बताए । उनले भने, ‘म अहिलेसम्म खेलेरै बाँचेको छु । यी बालबालिका पनि खेलकुदबाटै आत्मनिर्भर बन्न सकून् भन्ने मेरो चाहना हो । त्यसका लागि प्रशिक्षणसँगै उनीहरुलाई कराते खेल्दा लाग्ने खर्च म आफै जुटाउनेछु ।’

कुशलले १५ चैतबाट यस नवीकरण प्रतिष्ठानका बालबालिकालाई प्रशिक्षण दिन सुरु गर्नेसमेत बताएका छन् । कार्यक्रममा बोल्दै नवीकरण प्रतिष्ठान नेपालका अध्यक्ष विशाल टमाटाले कुशल श्रेष्ठ राम्रो खेलाडी मात्रै नभएर अशल व्यक्तित्वसमेत रहेको बताए । उनले भने, ‘उहाँले गरेको एकदम राम्रो लाग्यो । यस्ता मान्छे अझै नेपालमा धेरै भइदिए राम्रो हुन्थ्यो । उहाँले पहिलोचोटि यस्तो राम्रो काम गर्नुभयो । आजको दिन बच्चाहरु निकै खुशी भए । उनीहरुमा उत्साह छ ।’
ललितपुर भैसेपाटीमा रहेको नवीकरण प्रतिष्ठान नेपालले विकट जिल्लाका २० असहाय बालबालिकालाई आश्रय दिँदैआएको छ । कुशल श्रेष्ठ १०औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताका स्वर्णधारी खेलाडी हुन् ।

प्रतिक्रिया