आफूलाई प्रहरी भनेर ठग्ने पक्राउ

रुकुम । रुकुममा आफूलाई प्रहरी अधिकृत भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । आफू प्रहरीको अधिकृत भएको भन्दै सर्वसाधारणलाई ठग्दै हिँडेको सूचनाका आधारमा जाजरकोट भेरी मालिका नगरपालिका–१का ३१ वर्षीय प्रेमबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले आफू प्रहरी अधिकृत भएको भन्दै ठगी गर्दैै हिँडेको भन्ने सूचनाका आधारमा बस्नेतलाई पक्राउ गरिएको जानकारी दिए ।

बस्नेतलाई महिलाको मोबाइल खोसेर भाग्दै गर्दा मुसिकोट नगरपालिका–१ खलंगा मुसिकोटबाट रंगेहात पक्राउ गरिएको थियो । बस्नेतले प्रहरीमा जागिर लगाई दिन्छु, सरुवा मिलाई दिन्छु, कारागारमा रहेको कैदी छुटाई दिन्छु भन्ने जस्ता झुट्टा आश्वासन दिँदै सर्वसाधारणबाट रकम असुल्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बस्नेतले धेरै होटल र पसलहरुमा समेत ठग्दै हिँडेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको खड्काले बताए । रुकुम–५ निवासी ३८ वर्षीया विमला देवकोटा, सोही ठाउँ निवासी ५३ वर्षीय जगवीर शेरपालीको मोबाइल खोसेर भाग्दै गर्दा गस्तीमा गएको प्रहरीको टोलीले रंगेहात पक्राउ गरेको हो । पक्राउ परेका बस्नेतले आफ्ना सबै अभियोग प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ । बस्नेतलाई सार्वजनिक अपराध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । (सौस)

प्रतिक्रिया