बुटवल, ६ चैत । भारतले लगाएको नाकाबन्दीका कारण बुटवलमा देखिएको इन्धन र ग्यासको आपूर्ति अझै सहज हुन सकिरहेको छैन । भारतले लगाएको नाकाबन्दी अघोषित रुपमा नै खुल्ला भए पनि ग्यास तथा इन्धनको समस्या भने अझै कायमै रहेको हो ।
नाकाबन्दीले पारेको प्रभावका कारण ग्यासको अभाव अहिले पनि कायमै रहेको भन्दै व्यवसायीहरुले ग्यासको आपूर्ति पहिलोको तुलनामा बढाउनुपर्ने माग गरेका छन् । शनिबार बुटवलमा भएको ग्यास बिक्रेता संघ रुपन्देहीको छैँठो साधारणसभा तथा तेस्रो अधिवेशनमा बोल्ने अधिकांशले ग्यासको आयात वृद्धि गर्न माग गरे । उनीहरुले अहिले बजारमा ग्यासको माग अत्यधिक भए पनि आयात नहुँदा उपभोक्ताहरुलाई सहज तरिकाले ग्यास दिन नसकेको बताएका छन् । सरकारले ग्यासको आपूर्ति नबढाउञ्जेल बजारमा अझै केही समय ग्यासको अभाव कायम रहने उनीहरुको भनाइ रहेको थियो ।
ग्यास बिक्रेता संघ रुपन्देहीका अध्यक्ष छविलाल गैरेले देशमा भएको विषम परिस्थितिमा स्थानीय प्रशासनको सहयोगले रुपन्देहीमा केही हदसम्म भए पनि ग्यासको सहज वितरण भएको बताए । उनले भने, ‘केही मिडियाले लाञ्छना लगाए पनि सबै व्यवसायीहरुले कालोबजारी गरेका छैनन्, त्यो उनीहरुले पनि बुझ्नुपर्छ’ उनले भने, ‘यदि कसैले कालोबजारी गरेको छ भने कानुनको भागिदार बन्नुपर्छ ।’ अध्यक्ष गैरेले विश्वभरि ग्यासमा भ्याट लागू नगरेको भए पनि नेपालमा भने ग्यासमा भ्याट लगाइएकाले यसको खारेज गर्न माग गरे । उनले ग्याससम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदासम्म अनुगमन तथा सुरक्षाका उपायहरु प्रभावकारी नहुने बताए । कार्यक्रममा बोल्दै इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले ग्यासको अभाव अहिले पनि कायमै रहेको भए पनि अब छिट्टै बजारमा सहज रुपमा ग्यास उपलब्ध हुने बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले अहिले आएको जति ग्यास बजारमा पुगेको भए पनि माग उच्च भएकाले बजारमा सहज स्थिति उत्पन्न नभएको जिकिर गरेका छन् ।
कार्यक्रममा ग्यास बिक्रेता संघ रुपन्देहीका सल्लाहकार चुडामणि पौडेल, कानुनी सल्लाहकार शिवहरि अधिकारी, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, ग्यास बिक्रेता संघका कपिलबस्तु अध्यक्ष रामप्रसाद गैरेलगायतले अधिवेशन सफलताको शुभकामना दिएका छन् । कार्यक्रममा महासचिव नारायण नेपालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम उपाध्यक्ष दुर्गाप्रसाद उपाध्यायको स्वागतमा सम्पन्न भएको थियो । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
प्रतिक्रिया