सडक विस्तारमा स्थानीयको अवरोध

sadakकाठमाडौं, २ चैत । चीन सरकारको सहयोगमा कलंकी–कोटेश्वरको ८ लेन सडकको निर्माण कार्य तेल सहज भएसँगै अघि बढे पनि दायाँबायाँ बन्ने ६ मिटरको पैदल सडक विस्तारमा महालक्ष्मीस्थान सातदोबाटो सडक खण्डका स्थानीयले अवरोध गरेका छन् ।

सडक निर्माण हुने ठाउँमा रहेका घर टहराको मुआब्जा नपाएको भन्दै स्थानीयले अवरोध गरेको रिङरोड सुधार आयोजनाका प्रमुख रमेश श्रेष्ठले बताए । ८ लेनको सडकछेउमा बन्ने ६ मिटर चौडाको पैदल बाटो सरकारले बनाउनेछ भने चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले २५ मिटरको सडक निर्माणको जिम्मा लिएको छ । स्थानीयलाई पैदल यात्राका लागि सहजता, सडक सुरक्षा र सुन्दरताको लागि दायाँबायाँ ६ मिटरको सडक निर्माण कार्य अगाडि बढाइएको हो ।

रिङ सुधार आयोजना कार्यालयका अनुसार २५ मिटरको सडकमा पैदल यात्रुलाई सहजै प्रवेशको पहुँच नहुने हुँदा ६ मिटरको सडक निर्माणका लागि सरकार लागिपरेको छ । ‘६ मिटरको पैदल सडक आवश्यक पनि छ, किनकि २५ मिटरको सडकमा सिधै प्रवेश गर्न पाउने अवस्था हुँदैन’, आयोजना प्रमुख श्रेष्ठले भने, ‘२५ मिटरको दायाँ बायाँ ६ मिटरको सडक निर्माणलाई स्थानीयको अवरोध हुँदा समस्या आएको छ ।’

सरकारले ६ मिटरको सडक निर्माणको लागि पनि ६ चरणमा जिम्मा दिएको छ । थसीखेलदेखि सातदोबाटोसम्मको निर्माणको जिम्मा पाएको ‘दि मुस्कान जिबी’का प्रमुख शिवहरि खड्काले स्थानीय अवरोधले काम गर्न नपाएको गुनासो गरे । इन्धन अभावको समयमा पनि इन्धन व्यवस्था गरी काम गर्न खोज्दा स्थानीयले पसल स्टोर, पुराना घर र टहरा हटाउन नमानेपछि अवरोध भइरहेको खड्काको तर्क छ । ‘१५ महिनामा काम सक्ने गरी अघि बढेका थियौँ, ७ महिना हुँदा पनि कामले गति लिएको छैन’, उनले भने, ‘स्थानीय अवरोध तत्कालै हटे असार मसान्तसम्ममा काम सक्ने लक्ष्य छ ।’

यदि सहजरूपमा काम गर्ने वातावरण नबने आफूहरू सरकारसँग क्षतिपूर्ति माग्न बाध्य हुने उनले बताए । सडक स्थानीयकै लागि भएकाले सहयोग गर्नुपर्ने अवस्थामा अवरोध गर्नु उचित नहुने खड्काले बताए ।

अन्य ठाउँमा भने अहिले सहजताका साथ काम भइरहेको कार्यालयले जनाएको छ । कोटेश्वर सातदोबाटोसम्म दायाँबायाँ बन्ने ६ मिटरको सडकमा कुनै समस्या नभएको आयोजना प्रमुख श्रेष्ठले बताए । ‘कतिपय ठाउँमा स्थानीय सर्वसाधारणले आपैmँले अवरोध हटाउन थालेका छन्, ती सडक खण्डमा स्थानीयको मागअनुसार र सहयोगमा काम भइरहेको छ’ श्रेष्ठले भने । नख्खु–एकान्तकुना सडक खण्ड भने चैत मसान्तसम्ममा नै पिच गर्ने योजनाका साथ ठेकेदारहरूले काम गरिरहेको उनले बताए ।

श्रेष्ठका अनुसार ८ लेनको मुख्य सडक पनि इन्धन सहज भएसँगै तीव्र गतिमा काम भइरहेको छ । समयमै काम पूरा गर्न नसकिए पनि अर्को १ वर्षमा काम सम्पन हुने उनले बताए । अहिले सांघाई ग्रुपले पुलमा बिम राख्ने काम पनि लगभग सकिसकेको उनले बताए ।

प्रतिक्रिया