रकम नपाएपछि सिडियो कार्यालय घेराऊ

kavreकाभ्रे, २ चैत । नेपाल सरकारले भूकम्पपीडितलाई महिनौँ अघि वितरण गर्ने भनेको १० हजार रुपियाँ काभ्रेको केही स्थानमा बल्ल वितरण सुरु भएको छ । स्थानीय प्रशासनले रकम फर्छौट नभएको भन्दै वितरण थाँती राखेको थियो । सोमबारबाट विभिन्न ठाउँमा थालिएको न्यानो राहतको १० हजार केहीले पाउन थालेसँगै नपाउनेहरूले चाहिँ स्थानीय प्रशासनमा घेराउ र नाराबाजीसमेत गरेका छन् ।

मंगबार सिडियो कार्यालय काभ्रेमा नाराबाजी गर्दै आएका पाँचखाल नगरपालिकाका भूकम्पपीडितले राहतको रकम वितरण व्यावहारिक नभएको भन्दै धर्ना गरेका हुन् । पनौति, बनेपा र पाँचखाल नगरपालिलगायत १८ हजार घरधुरीका भूकम्पपीडितका लागि न्यानो राहतको १० हजार वितरण हुँदै गर्दा आंशिक घर भत्केकाले नपाउने भएपछि ३८ घरधुरीका भूकम्पीडितले नाराबाजी गरेका हुन् ।

भूकम्प गएको धेरै लामो सयमसम्म प्रारम्भिक रेकर्डसमेत नबनाएको स्थानीय प्रशासनले मौखिक आधारमै कहीँ फिल्डमा नगई लिस्टहरू उपलब्ध गराउँदै त्यसैका आधारमा भूकम्पपीडित परिचयपत्र बनाएको र त्यसैको आधारमा १५ हजार वितरण गरेको थियो । यही विषयमा पाँचखालका भूकम्पपीडितले पक्षपात भएको भन्दै आफूहरूले पनि न्यानो राहत स्वरूपको १० हजार पाउनुपर्ने माग गरेका छन् ।

नक्कली भूकम्पपीडितले समेत रकम पाएको दाबी गर्दै छानबिन गर्न मागसमेत गरेका छन् । उनीहरूले नयाँ तथ्यांक संकलन गरेर रकम वितरण गरिनुपर्ने माग गरेका छन् ।

यता काभ्रेका सिडिओ बालकृष्ण पन्थीले भने खटाइएको इन्जिनियर टोलीले ल्याएको तथ्यांकअनुसार मात्रै राहत पाउने र नपाउने छुट्याइने जानकारी दिए । तथ्यांकको शुद्धीकरणमा ढिलाई हुँदा भूकम्पमा भत्केका घर संख्या थपिएको भन्दै पन्थीले वास्तविकता बुझेपछि मात्रै यस्ता समस्याको छानबिन हुने बताए । पाँचखालमा हालसम्म केही नपाएका घरधुरीको संख्या २० हजार छ भने १८ हजार घरधुरीले १५ हजार पाए पनि थप १० हजार पाउन सकेका छैनन् ।

प्रतिक्रिया