सिरियाबाट रसियाले सेना फिर्ता गर्ने

Russian army at syriaवासिंगटन, २ चैत । सिरियाको बारेमा जेनेभा शान्ति वार्ताकै क्रममा सोमबार अमेरिकी राष्ट्रपति बाराक ओबामा र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको समाचार छ । वार्तामा सिरियाबाट रसियाली सेना हटाउनेबारे कुराकानी भएको ह्वाइटहाउसले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि राष्ट्रपति पुटिनले सिरियाबाट आंशिक रूपमा सेना हटाउने निर्णय गरिसकेकाले त्यसबारे राष्ट्रपति ओबामालाई जानकारी गराएका थिए ।

उनीहरूबीच सिरियामा शान्ति स्थापनाका लागि हुने जेनेभा वार्ताबारे पनि कुराकानी भएको बताइएको छ । सो वार्तामा सिरियामा जारी रहेको रसियाली सैनिकको गस्ती एवं उपस्थिति नराखिने र रसियाली सेना त्यहाँबाट हटाउनेबारे कुराकानी भएको थियो ।

ह्वाइटहाउसको सो विज्ञप्तिमा भनिएको छ, ‘सो वार्तामा सोमबार मात्र रसियाली राष्ट्रपतिले सिरियाबाट आंशिक रूपमा आफ्ना सेना फिर्ता गर्ने विषयका साथै सिरियामा जारी रहेको युद्धविरामलाई थप सशक्त बनाउने र त्यसका लागि आवश्यक पर्ने कदमबारे पनि कुराकानी भएको थियो ।’

सिरियामा केही महिनादेखि रसियाली सेनाले आइएस लडाकुविरुद्ध हवाई हमला गर्दै आएको थियो । रसियाले सिरियामा सैनिक तैनाथ गरेर सिरियाली शासकलाई सहयोग गरेको अमेरिकाले आरोप लगाउँदै आएको थियो । तर, सिरियामा अमेरिकाको पनि सैनिक रहेको छ । उसले पनि त्यहाँको अवस्थाको मूल्यांकन गरिरहेको जनाएको छ । त्यसअघि पनि सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि भन्दै अमेरिकी सेनाले पनि हमला गर्ने गरेको थियो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सोमबारबाट जेनेभामा सिरियाली द्वन्द्वको अन्त्यका लागि शान्तिवार्ता सुरुगर्ने तयारी गरिएको छ । तर, यसको पछिल्लो प्रगतिबारे भने केही आएको छैन । यस वार्तामा बस्नका लागि सिरियाली विपक्षीहरूका तर्फबाट भने राष्ट्रपति बसर अल असदले कुनै पनि हालतमा सत्ता छोड्पर्ने अडान अघि सारिएको छ । असदले सत्ता छोड्ने शर्तमा मात्र सिरियाली विपक्षीले वार्तामा बस्ने जनाउँदै आएका छन् ।

गत ५ वर्षदेखि सिरियामा जारी रहेको द्वन्द्वको समाप्तिका लागि जेनेभामा हुन लागेको शान्तिवार्ता अघि सिरियाली विपक्षीले सो अडान राखेका हुन् । सिरियामा सन् २०११ बाट सुरु भएको द्वन्द्वमा परी २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएपछि यो द्वन्द्व अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब पनि परेको छ । जारी द्वन्द्वमा मारिएकामध्ये करिब ८० हजार सर्वसाधारण रहेका छन् । तीमध्ये पनि १३ हजार ५ सय भने बालबालिकाको संख्या रहेको छ ।

गएको सेप्टेम्बर महिनाबाट सिरियामा रसियाले सुरु गरेको हवाई हमलापछि त्यस घटनाको विरोध भएको थियो । तर, सोमबार राष्ट्रपति पुटिनले गरेको यो सैनिक फिर्ताको घोषणाले गर्दा अबका दिनमा केकसरी परिस्थिति अघि बढ्छ भन्ने बारेमा भने बडो सतर्कतासाथ हेर्नुपर्ने भएको अमेरिकी अधिकारीहरूको भनाइ छ ।

सिरियाको जनसंख्याको कम्तीमा पनि ५० प्रतिशत जनता विस्थापित हुनुपरेको र यस मध्यपूर्वी देशलाई निकै ठूलो जनधनको क्षति पु¥याएको यस द्वन्द्वको अन्त्यका लागि सुरु भएको यस वार्ताप्रति आशा पलाएको बताइएको छ ।

यसैबीच अर्काे एक समाचारअनुसार सिरियाली शान्तिका लागि संयुक्तराज्य अमेरिका र रसियाको पहलमा हुन लागेको यस शान्तिवार्ताको परिणाम सकारात्मक आउने फ्रान्सले जनाएको छ ।

यी २ देशबाट भएको यस वार्ताको पहलले वास्तविक प्रगति हासिल गरेको र यसै बमोजिम आगामी वार्ता पनि अघि बढ्ने अपेक्षा गरिएको फ्रान्सले जनाएको हो ।

फ्रान्सका विदेशमन्त्री जाँ–मार्क आयरुल्टले सिरियाबारेमा जेनेभा शान्ति वार्ता पुनः सुरु हुनुपूर्व युद्धविरामको सबै पक्षबाट पूर्णतया सम्मान गर्दै सम्पूर्ण सिरियाली नागरिकमा मानवीय सहायताको पहुँच पुग्ने अवस्था आउनु सकारात्मक हो ।

हामी जेनेभामा भएको शान्ति पहलको शीघ्र कार्यान्वयन होस् भन्ने कुरामा विश्वास राख्छौँ, फ्रान्सेली विदेशमन्त्रीले भने । सिरियमा जारी केही हप्ताको युद्धविरामपछि वार्ताको तयारी हुँदै छ ।

उनले भने, ‘पुनःशान्ति वार्ता सुरु हुनुअघि सबै सिरियाली नागरिकबीच मानवीय सहयोगको पहुँच तथा विद्रोही तथा सरकार पक्षबाट युद्धविरामको पूर्ण परिपालना हुनुपर्छ र यसका माध्यमबाट वार्तामा विश्वास कायम हुनसक्छ ।

प्रतिक्रिया