चीनसँग पारवहन र पेट्रोलियम व्यापार सम्झौता

काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओली ७ चैतदेखि १ साता उत्तरी छिमेकी देश चीन भ्रमणमा जाँदै छन् । दक्षिण छिमेकी देश भारतको राजकीय भ्रमणको ठीक १ महिनापछि चीन भ्रमण हुन लागेको हो ।

भ्रमणलाई ऐतिहासिक बनाउन प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्व सचिव र चीनका लागि पूर्वराजदूतहरूसँग आइतबार साँझ बालुवाटारमा परामर्श गरेका छन् भने सरोकारवालाहरूसँग छलफल जारी छ ।

७ चैतमा चीन प्रस्थान गर्ने प्रधानमन्त्री ओलीको महत्वपूर्ण भेटवार्ता ८ चैतमा बेइजिङमा हुने कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको छ । त्यसैदिन ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङ, उपराष्ट्रपति युन चाई, प्रधानमन्त्री लि खछियाङसँग भेटवार्ता गर्नेछन् । उच्चस्तरीय बैठकमा केही महत्वपूर्ण निर्णय हुने र त्यसमा मन्त्रीस्तरमा हस्ताक्षर हुने कार्यक्रम छ । भ्रमणमा केही ऐतिहासिक सम्झौता हुने श्रोतले बताएको छ । त्यसमा पारवहन सन्धी, पेट्रोलियम पदार्थसम्बन्धी व्यापारिक सम्झौता, स्वतन्त्र व्यापार सम्झौता (एफटिए) छन् ।

भारतले अघोषित नाकाबन्दी लगाएर पेट्रोलियम पदार्थको आपूर्ति असहज बनाएको अवस्थामा सो सम्झौताहरूले नेपालको व्यापार विविधिकरण गर्ने विश्वास लिइएको छ । जारी संविधानमा असन्तुष्टी जनाएर नाकाबन्दी लगाएपछि चीनसँग विकल्पका रूपमा ती सम्झौताहरू गर्न सरकार र राजनीतिक दलमाथि नागरिकको दबाब थियो ।

प्रधानमन्त्रीले आइतबार गरेको परामर्शमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्वसचिव र राजदूतहरूले पनि पारवहन र व्यापार सन्धी गर्न सुझाएका थिए । यी ऐतिहासिक सम्झौताहरू बाहेक नेपालको पेट्रोलियम पदार्थ अन्वेषणको संभाव्यता अध्ययन गर्न र नेपालमा पेट्रोलियम भण्डारण क्षमता बढाउन ३ ठाउँमा भण्डारण बनाउन नेपाललाई सहयोग गर्ने भएको छ । त्यसबाहेक नेपालले केही ठूला परियोजनामा चिनियाँ लगानीका लागि आव्हान गर्ने तयारीसमेत भएको छ । त्यसमा किमाथांका अरुण जलविद्युत् परियोजना, बुढीगण्डकीलगायतका रहेको स्रोतले जनाएको छ ।

चीनको तर्फबाट सुपर्दगी र कानुनी सहायता सन्धीमा हस्ताक्षर गर्नसमेत नेपालसँग प्रस्ताव राख्ने तयारी गरिरहेको छ । त्यसको मस्यौदा आदानप्रदान भइसके पनि नेपालका तर्फबाट भने त्यसलाई महत्व दिएको छैन । त्यस्तै, केही सहरसँग भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर पनि हुनेछ ।

सम्झौताहरूमा चीनका तर्फबाट मन्त्रीस्तरको हस्ताक्षरको प्रस्ताव आएकाले नेपालको प्रतिनिधि मण्डलमा पनि ४ जना मन्त्री रहनेछन् । कमल थापा, विष्णु पौडेल, दीपक बोहोरा र गणेशमान पुन प्रधानमन्त्रीसँग चीन भ्रमणमा जानेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ४ जना मन्त्रीहरूसमेत सहभागी हुने टुंगो लागेको छ । भ्रमण टोलीको आकार यसअघि भारत जाने टोलीजत्रै जम्बो हुने भएको छ ।

चीन भ्रमणमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, आपूर्तिमन्त्री गणेशमान पुन र वाणिज्य मन्त्री दीपक बोहोरा जाने निश्चित भएको हो । भ्रमणका क्रममा २ देशबीच हुनसक्ने विभिन्न सम्झौतासँग जोडिएका मन्त्रालय भएकाले उनीहरू जाने भएका हुन् ।

भ्रमण टोलीको संख्याबारे अन्तिम टुंगो नलागिसकेको भए पनि यसअघि भारत गएको टोली जत्रै जम्बो हुने प्रधानमन्त्रीका विदेश मामलाविज्ञ गोपाल खनालले बताए ।

भारत भ्रमणमा सरकारी टोलीमा ४६ जना थिए भने व्यापारीको छुट्टै समूह पनि टोलीमा मिसिएको थियो । यति ठूलो टोली किन आवश्यक प¥यो भन्ने प्रश्नमा खनालले भने, ‘विभिन्न महत्वपूर्ण सम्झौताहरूको तयारी भएकाले सम्बन्धित मन्त्रालयहरूको प्रतिनिधित्व हुन्छ । त्यसबाहेक प्रधानमन्त्रीले समेट्नु पर्ने व्यक्तिहरू छन् । टोली ठूलो बनाउन चाहेको नभएर आवश्यकता र परिस्थितिले गर्दा भएको हो ।’ व्यापारी टोलीको खर्च भने उनीहरू आफैँले बहन गर्ने खनालले बताए ।

भारत भ्रमणको तयारीका लागि प्रधानमन्त्री ओलीले आइतबार बेलुकी पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गएका थिए । उनीहरूले सामान्य अवस्थामा वास्ता नगर्ने र अप्ठेरो पर्दा मात्रै चीनलाई सम्झिने परिपाटी हटाउनुपर्छ भन्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणमा माग्नलाई मात्र जाने नभएर द्वीपक्षीय हितमा केन्द्रित हुने बताए । उनले चीनसँग हुने सम्झौताहरूले नेपाललाई एउटा देशमा मात्रै निर्भर रहने परिस्थितिको अन्त्य गर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया