फेरि भुइँचालो गएको छ मुटुहरूमा

chandra gurung copy

राहत थाप्नेहरूको भीडभाडपूर्ण आकासमा
गायब छ एउटा मलीन जून
सरकारबाट सहयोग पाउनेहरूको लामो नामावलीबाट
हटाइएको छ एउटा ठीटलाग्दो नाम
अभावमा बाँचिरहने जीवनको बहिखातामा
घटेको छ एक मूल्यहीन संख्या
च्याती गएको छ एक केरमेर पाना
धिपिक्क धिपिक्क
समस्याको हावाहुरीसित जुध्दै–जुध्दै
निभेको छ एउटा दियो ।

झर्दाझर्दैको आँसु सुकेको छ गालामा
अन्धकारसित लड्दा–लड्दै
एउटा थकित तारा झरेर गएको छ बिहानी आकासमा
सम्बन्ध–विच्छेद गर्दै थुप्रै पीडाहरूसित
अकाल मृत्यु भएको छ एक पीडाको
र, यस चिसो साँझ
मृत्युको यो नमीठो खबरले
भुइँचालो गएको छ असंख्य मुटुहरूमा ।

यो मृत्युसँगै–
उडी गएको छ पूmलको सुगन्ध
तुषारापात भएको छ वसन्तको हरियो सपनामाथि
दुःखेको छ मनको बगैँचा
निर्मम कोतरिएका छन् आफन्त मुटुहरू
त्रूmर प्रहार भएको छ हाँसोमाथि
मुस्कानलाई नाकाबन्दी छ जीवनको हाटबजारमा
चारैतिर,
सुकसुकाउँदै छन् बलात्कृत रहरहरू ।

छाडी गएको छ
बाका बूढौली आँखाका खोपीमा अनाथ आशाहरू
आमाको छातीभरि ममताको दुःखाइ
भाइबहिनीका लागि अभावका गहिरा खाडलहरू
सन्तानका अनुहारभरि रित्तोपन
र, आफ्नो मायालुको पछ्यौरीमा सुटुक्क राखी गयौ
केही भाग छट्पटी र उदासी ।

मौन र स्तब्ध छन् हिमालहरू
आँसु खसाल्दै छन् पहाडहरू
व्यथित छ डाँडाकाँडा उडिहिँड्ने बतास
ए जीवन !
कत्ति बेस्वाद गयौ तिमी
अलपत्र छन् तिम्रो चिहानमाथि सरकारी राहतका
एक पाउ दाल
दुई किलो चामल
र, केही थोत्रा लत्ताकपडा ।
(चिसोले मरेका भूकम्पपीडितमा समर्पित कविता)

प्रतिक्रिया