विश्व महिला सम्मेलन काठमाडौंमा

काठमाडौं, २८ फागुन । ‘विश्वका महिला सर्वोच्च शिखर चुम्दैछन्’ भन्ने मूल नाराका साथ सोमबार(१ चैत)बाट सुरु भएर ५ चैतसम्म काठमाडौंमा दोस्रो विश्व महिला सम्मेलन हुने भएको छ । दोस्रो विश्व महिला सम्मेलन मूल आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरेर विश्वका महिला र विश्वको महिला आन्दोलनबारे छलफल हुने जानकारी दिएको हो ।

सम्मेलनमा नेपाल, भारत, भेनेजुयलालगायत विश्वका ४७ देशका ७ सय प्रतिनिधिको उपस्थिति रहने सम्मेलन प्रचार विभाग प्रमुख मीना पुनले जानकारी दिइन् । नेपालबाट एमाले निकट अखिल नेपाल महिला संघ, राष्ट्रिय जनमोर्चा नेपाल निकट अखिल नेपाल महिला संघ, एमाओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी, क्रान्तिकारी माओवादी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी), माले निकट अखिल नेपाल प्रगतिशील महिला संघ, संयुक्त निकट अखिल नेपाल महिला संघ फेडेरेसनको सहभागिता रहनेछ ।

सम्मेलनमा साम्राज्यवाद, पुँजीवाद र महिलामाथिको उत्पीडन, महिला आन्दोलन र महिलावाद, युद्धको आक्रामकता र महिला मुक्ति, स्वाधिनताको लडाइँमा महिलाको भूमिका, श्रमिक वर्गीय आन्दोलन, युनियनको संघर्षमा श्रमिक महिलाको भूमिका, युवा महिला र राजनीतिमा युवा महिलाको सहभागिता, महिला मुक्तिको लागि संघर्षलगायतका ९ वटा विषयमा छलफल हुनेछ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनको उद्घाटन सभामुख ओनसरी घर्तीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनभर हरेक साँझ विभिन्न देशले छुट्टाछुट्टै सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने आयोजकले जनाएको छ । सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्नेछ ।

सम्मेलनमा नेपालबाट ७ कम्युनिस्ट राजनीतिक दलका ३ सय ५० र विदेशी ३ सय ५० जनाको उपस्थिति रहनेछ । हरेक ५ वर्षमा हुने सम्मेलनमा पहिलो विश्व महिला सम्मेलन सन् २०११ मा भेनेजुयलामा भएको थियो ।

प्रतिक्रिया