विपद व्यवस्थापनका लागि छलफल

काठमाडौं, २७ फागुन । प्राकृतिक प्रकोप न्यूनीकरण तथा विपद् व्यवस्थापन गर्न सहज बनाउन काठमाडौंमा छलफल सुरु भएको छ । विपद व्यवस्थापनलाई सामूहिक प्रयासबाट छिटो र प्रभावकारी सञ्चालन गर्नेबारेमा १८ मुलुकका सेना र सरोकारवाला निकायका अधिकारीबीच छलफल सुरु भएको हो ।

विपद् व्यवस्थापनका लागि ‘बहुर्राष्ट्रिय योजना सुदृढीकरण समूह टेम्पेष्ट एक्सप्रेस २८’ का लागि नेपाली सेना र अमेरिकी सैनिकको एसिया प्रशान्त कमाण्डद्वारा बिहिबारदेखि आयोजित कार्यशालामा त्यससम्बन्धी विषयमा छलफल सुरु भएको छ ।

कार्यशालामा विशेषगरी प्राकृति प्रकोप र महामरीका घटनापछि रोकथाम, क्षति न्यूनीकरण, पुनःस्थापना, स्थान्तरणलगायतका कार्यलाई परिणाममुखी तुल्याउन राष्ट्रिय तथा बहुर्राष्ट्रिय क्षमता सुधार गर्ने विषयमा केन्द्रित रहेर छलफल सुरु भएको छ । विपद् व्यवस्थापनका क्षेत्रमा एकीकृतरूपमा कार्यरत विश्वका ३१ देशमध्ये १८ देशका सेना, नेपाली सेना, सशस्त्र प्रहरीबल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, संयुक्त राष्ट्रसंघ, नेपाल रेडक्रसलगायत सरोकारवाला निकायका १८० प्रतिनिधिको कार्यशालामा सहभागिता रहेको छ ।

विश्वका विभिन्न मुलुकमा विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत विज्ञले प्रस्तुत गर्नुहुने कार्यपत्र र छलफलको निचोडका आधारमा नेपालमा यससम्बन्धी संयन्त्र गठन र नीति बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । नेपाललगायत समग्र दक्षिण एसियाका मुलुक प्राकृतिक प्रकोपका हिसाबले अत्यन्तै जोखिम क्षेत्रमा पर्दछन् । कार्यशालाबाट आउने निष्कर्षले यस क्षेत्रको प्रकोप व्यवस्थापन, जनधनको क्षति न्यूनीकरण र मानवीय सहायता उपलब्ध गर्न योगदान मिल्ने विश्वास गरिएको छ । नेपाल प्राकृतिक प्रकोपको दृष्टिले उच्च जोखिममा रहेको, गएको वैशाखमा मात्रै पनि भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोर्नु परेको हुँदा आगामी दिनमा त्यसखाले विपद्का घटना भएमा कसरी असरलाई न्यूनीकरण र व्यवस्थापन गर्ने भन्ने विषयमा अनुभव आदानप्रदान हुने नेपाली सेनाका सहायकरथी अश्विन थापाले जानकारी दिए ।

भूकम्पमा अत्यन्तै सीमित स्रोतसाधनबाट पनि परिणाममुखी काम गर्न सकिए पनि उद्धार र खोजी कार्यमा केही अप्ठ्यारो झेल्नुपरेको अनुभव सुनाउँदै थापाले भोलिका दिनमा यस्तो समस्या झेल्नु नपरोस् विपद् व्यवस्थापनको लागि संयन्त्र गठन गरेर सजिलोसँग काम गर्न सकियोस् भन्ने कार्यशालाको उद्देश्य रहेको बताएका छन् ।

नेपाली सेनाका वलाध्यक्षरथी पूर्णचन्द्र थापाले उक्त कार्यशालाको उद्घाटन गर्दै विपद्का समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग र उद्धारका कामलाई एकीकृतरूपमा कसरी सञ्चालन गर्न छलफलमा विशेषज्ञले दिएका सुझाव महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया