कुशको गहनाले विवाह सकियो

बुटवल, २२ फागुन । पहँेलै सुनका गरगहना र सुनबुट्टे सारी चोलीमा सिंगारिएकी बेहुली, गाडीको लावालस्करमा जन्तीसहित सजिएर बेहुली लिन जाने बेहुला । विवाहमा सबैको मनमा आउने दृश्य हो यो ।

तर, बुटवलमा शनिबार यस्तो विवाह भयो जुन विवाहमा न त बेहुला पक्षबाट गरगहना किनिए न त बेहुली पक्षबाट दाइजो वा महँगा उपहार नै । एउटै मण्डपबाट सम्पन्न भएका २ जोडी बेहुला बेहुलीको विवाहकार्यमा कुशको औँठीबाट स्वयंवर गरियो भने कुनै पनि सुनका गरगहना प्रयोग भएनन् । परम्पराको नाममा पछिल्लो समयमा बढ्दै गएको फेसन तथा गरगहनाको प्रयोगले विवाह जस्तो पवित्र कार्यलाई अत्यन्त भड्किलो बनाएको भन्दै बेहुला जनार्दन न्यौपाने र सुन्दर भण्डारी तथा बेहुली यशोदा वस्ती र समीक्षा डोटेलले सुन र दाइजोरहित विवाह गरेका हुन् । बेहुलीले बेहुलालाई कुशको औँठी लगाइदिँदा बेहुलाले कुशसँगै पोतेबाट बनाइएको औँठी लगाएर स्वयंवर गरेका थिए । ढाकाको चोली र सारीमा सजिएका बेहुलीले लगाएका सबै गरगहनामा पोते प्रयोग गरिएको थियो ।

श्रीकृष्ण गण्डकी–२ स्याङजाका न्यौपाने र रामपुर–१५ पाल्पाकी वस्ती र मालुंगा–८ स्याङजाका भण्डारी र चापाकोट–६ स्याङजाकी डोटेलका बीचमा एउटै मण्डपबाट अन्यभन्दा फरक र नौलो विवाह भएको हो ।

२ व्यक्ति मात्र होइन २ परिवारलाई एकआपसमा जोड्ने कार्यको रूपमा रहेको विवाहकै कारण कतिपय परिवारहरू जीवनभर सन्तानको विवाहको ऋण तिर्न नसक्दा घरबार नै बेच्नुपर्ने अवस्थामा पुग्ने गरेको भन्दै विवाहको गलत संस्कारलाई चिर्न यसप्रकारको विवाह गरिएको न्यौपानेले बताए । विवाहमा गरिने तडकभडक र होडबाजीले समाजमा धनी र गरिबबीचको खाडल झनै गहिरिँदै गएको भन्दै विवाहलाई गरगहना र धनदौलत प्रदर्शन गर्ने नभई २ सम्बन्धलाई जोड्ने पवित्र कार्यको रूपमा विकास गर्नुपर्ने भण्डारी बताउँछन् ।

विवाहका सबै विधीसहित १४ जना पण्डित र बटुकबाट स्वस्तीवाचन गरिएको उक्त विवाहमा ४ परिवारको ४ स्थानमा गरिने भोजसमेत एकै स्थानमा गरिएको थियो ।

तर, विवाहको भोजको खर्चसमेत बेहुली पक्षलाई बेहोर्न बन्देज लगाइएको थियो । ‘जन्म दिएर हुर्काएको छोरी जिम्मा लगाउनु जस्तो महान कार्य अरू केही हुनै सक्दैन त्यसैमाथि आर्थिक बोझ लगाउनु महापाप हो,’ न्यौपानेले भने ।

बेहुलीपक्षले बेहुलीलाई बिदाईसँगै बेहुलापक्षलाई गरिने टीकाटालो र दक्षिणा दिन रोक थियो । त्यसको साटो बेहुलापक्षबाट सबै जन्तीलाई रामनामी खादा, रुद्राक्ष माला र श्रीमद्भागवत गीता पुस्तक उपहार दिइयो ।

‘धनले मानिसलाई लोभ र पाप कर्ममा उन्मुख गराउँछ पवित्र गीता र रुद्राक्षले मानिसलाई ज्ञानी र सत्कर्ममा लाग्न प्रेरणा दिन्छ । हाम्रो उद्देश्य लोभ र पाप बढाउनु होइन मानिसलाई ज्ञान र सत्कर्मको बाटोमा लाग्न प्रेरणा दिनु हो,’ न्यौपानेले तर्क गरे ।

ज्योतिषशास्त्रमा आचार्य गरेका न्यौपाने र शिक्षा संकायमा अंग्रेजी विषयबाट मास्टर्स गरेका भण्डारी दुवैले स्थानीय लुम्बिनी टेलिभिजनमा धार्मिक कार्यक्रम समेत सञ्चालन गर्दछन् भने बेहुली दुवैले व्यवस्थापनमा स्नातक गरेका छन् ।

सानैदेखि सामाजिक क्षेत्रमा उत्साहित न्यौपानेले विवाहमा हुने अन्य फजुल खर्च कटाएर विभिन्न क्षेत्रमा सहयोगसमेत गरेका छन् । न्यौपानेले आर्थिक रूपमा अत्यन्त कमजोर तथा जेहेन्दार २ जना विद्यार्थी रूपन्देहीको जनजागृती मावि कक्षा ६ मा पढ्ने अर्जुन थारूलाई २५ हजार र कालिका उच्च मावि बुटवलमा कक्षा ९ मा पढ्ने रिना रैदासलाई २६ हजार रूपैयाँ प्रदान गरेका छन् ।

त्यस्तै स्याङजा र पाल्पाको संगमस्थल राम्दीमा निर्माण हुँदै गरेको गौशालाको लागि १ लाख रूपैयाँ प्रदान गरेका छन् । न्यौपानेले आफ्नो बुबा स्व. मोहनीलाल न्यौपानेको दमको कारण निधन भएको भन्दै बुबाको नाममा प्रतिष्ठान सञ्चालन गरी दमका बिरामीहरूको उपचारमा सहयोग गर्ने घोषणासमेत गरेका छन् ।

हाम्रो चाहना अभियान र उत्साह, गहना र दाइजोरहित आध्यात्मिक विवाह भन्ने नारासहित सम्पन्न भएको सो विवाहमा विभिन्न क्षेत्रका व्यक्तिहरूबाट साहित्यिक, सांस्कृतिक एवं आध्यात्मिक प्रवचनसमेत गरिएको थियो ।

सो विवाह कार्यमा अखिल भारतीय हरिव्यासी निर्वाणी अखडा वृन्दावनका नारायणदास नागाजी, कौशिकजी महाराज, गोव्रती योगी सोमराजजी महाराज, कृष्ण गण्डकी आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण, धर्म जागरण अभियानका संयोजक शंकर पाण्डेलगायतले धार्मिक प्रवचन दिएका थिए ।

प्रतिक्रिया